
१७ जना साहित्यकार पुरस्कृत
हरि सांस्कृतिक केन्द्रले हरि उत्कृष्ट प्रतिभा पुरस्कारबाट १७ जनालाई सम्मान गरेको छ । साहित्यिक क्षेत्रमा कलम चलाएका लेखकहरुलाई गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा चारबर्षको उत्कृष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको हो ।
जसअनुसार २०७१ सालको पुरस्कार ‘हिमालपारि महाकाब्य’का लेखक डाक्टर फणिन्द्रराज देवकोटा र २०७२ सालको पुरस्कार ‘आँधी’ कविता संग्रहका लेखक सीताराम अधिकारीलाई प्रदान गरिएको छ । २०७३ सालको सम्मान ‘कंगो र इथियोपिया सेरोफेरो’ नियात्रा संग्रहका लेखक नगेन्द्र न्यौपाने र ‘माल्भा’ नियात्रा संग्रहका लेखक राजेन्द्र अर्याललाई दिईएको छ । २०७४ सालको हरि उत्कृष्ट प्रतिभा पुरस्कार १३ जनालाई दिइएको छ । आरोहण संयुक्त महाकाव्यका लेखकहरु गोपिकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाई, जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, रामप्रसाद ज्ञवाली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ । उनीहरुलाई सम्मान पत्रका साथमा नगद पुरस्कार दिईएको केन्द्रका सचिव सुनील अर्यालले जानकारी दिए ।

यसैगरी, केन्द्रले गोरखा नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय निबन्ध प्रतियोगिता पनि गरेको छ । संघीयता र दिगो विकास विषयक प्रतियोगितामा द वल्ड क्यापिटल की प्रीति खड्का पहिलो, तारा मावि छेपेटारकी अंकिता दवाडी दोस्रो र महालक्ष्मी मावि लक्ष्मीबजारकी कञ्चन आले तेस्रो भएका छन् । उनीहरुलाई क्रमश नगद पाँचहजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नौ विद्यालयका १८ विद्यार्थी सहभागी थिए । केन्द्रका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर बासुदेव त्रिपाठी, प्राध्यापक राजेन्द्र सुवेदी, डाक्टर रामप्रसाद ज्ञवाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरुले कविता वाचन गरेका थिए ।




