कति पर्ने बन्दको मारमा हामी ?
सुनिन्छ, जापानमा आन्दोलनकारीले अरु दिनमा भन्दा धेरै काम गरेर आन्दोलन गर्छन् । अर्थात धेरै काम गरेर धेरै उत्पादन गरेर सम्बन्धित क्षेत्रलाई नैतिक संकट पर्ने गर्छन् । तर हामी यति अधम छौं, बन्द गरेर आन्दोलन गर्छौं ।
सबैले जानेको कुरा हो, बन्द हड्ताल भनेको आन्दोलनको अन्तिम अस्त्र हो । तर हाम्रो समाज यति कुरुप भयो, यति निर्लज्ज भयो, यति हरामी भयो, आन्दोलन नै बन्द हड्तालबाट सुरु हुन्छ ।
सबैले जानेको कुरा हो, पहिले पाँचहजार, छ हजारको हिमाल चढेपछि आठ हजारको हिमाल चढ्ने हो । तर सगरमाथा चढेर पाँच हजारको हिमाल चढ्नु लज्जास्पद हो । यो नबुझ्ने कोही छैन, तर बुझेर बुझ पचाउने धेरै छन् ।
हामीले धेरै बन्दकर्तासंग असहमति राखियो । धेरै बन्दकर्ताको आलोचना गरियो । हामी अर्थात बन्दका कारण दुखा पाउने सर्बसाधरण नागरिक । तर हाम्रो(नागरिकको) असहमतिले न कुनै बन्दकर्ता सच्चिए, न बन्द गर्न रोके, न असहमतिकर्ताको आलोचना गर्न छाडे ।
अहिले हेर्दा बन्द सहज झै लाग्न थालेको छ । साधारण एउटा शनिबार झैं । यस्तो आउनेछ, बन्द हड्ताल निष्तेज हुनेछ । बन्दकर्ता आलोचित अनि बिस्तारै बहिष्कृत हुनेछन् ।
चिकित्सकले पनि कोही बिरामीलाई पहिलैपटक बढि एमजीको औषधी दिदैन । औषधीको एमजी सानोबाट ठूलोतिर बढ्दै गइरहेका हुन्छन् । तर एकैचोटी चर्को औषधी दिइयो भने पछि त्यो भन्दा सानो क्षमताको औषधी दिएर ब्यथा बिसेक हुदैन ।
आन्दोलनले त माथिल्लो निकायलाई पो अप्ठ्यारोमा पार्नु पर्ने हो, तर यहाँ आन्दोलनले सर्बसाधारणले सास्ती खेप्छन् । सर्बसाधारणको मनस्थिति बिगारेर आन्दोलनकारी आलोचित शिवाय के हुन्छन् ? त्यसैले यस्ता सर्बसाधारणको आलोचनाको पात्र बन्नु उपयुक्त हुदैन ।




