लाप्राकीलाई नक्कली झ्यालढोका
भूकम्पपछि विपदमा परेका लाप्राकका बासिन्दाको ठूलो सहाय भई आएको थियो एनआरएनए, जसले ५७३ घरधुरी बनाई पुनर्वास गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । त्यतिबेला लाप्राकीहरु गुप्सीपाखामा त्रिपालको रङ्गीविरङी झुप्रो बनाएर बसेका थिए ।
त्यही झुप्रोमा पुस, माघमा हिउँ पर्न थाल्यो । हिउँ जमेर त्रिपाल चुहुन थाल्यो । चुहुन मात्र नभै त्रिपाल च्यातिए ।
चिसो सिरेठोले वृद्धबालबनिताको विजोग भयो । त्यो दृष्य विश्वव्यापी भयो । त्यतिबेलै एनआरएनएले एकहजार जना भूकम्प पीडितलाई घर बनाइदिने घोषणा गरेको थियो ।
सरकारले गुप्सीबस्तीमा घर बनाउन अनुमति दिएमा त्यहाँ बस्ने सबै लाप्राकीलाई घर बनाइदिने शेष घलेको नेतृत्वमा रहेको एनआरएनएले घोषणा ग¥यो ।
लाप्राकमा भूकम्प पीडित पाँचसय ७३ जना घर परिबार रहेको जानकारी आएपछि उसले त्यति घर केही महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु ग¥यो । तर पछि केही घर थपिए ।
२०७३ सालको असोजसम्म घर निर्माण गरिसक्ने लक्ष्यका साथ २०७२ को फागुनमा गुप्सीबस्तीको सिलान्यास भएको थियो । तर कामले गति लिन सकेन । विभिन्न विवाद तथा मानवीय र प्राकृतिक बाधाअड्चन आउन थालेपछि एनआरएनए आजित भयो । काम लम्बिँदैलम्बिदै जाँदा आजसम्म पनि काम सम्पन्न गरेको छैन ।
अहिले अब आउने वैशाखमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको छ ।
काम त अघि बढिरहेको छ, तर घरमा प्रयोग भएका झ्याल ढोका नक्कली छन् । थोरै बल प्रयोग गरेर बक्सिङ हान्दा झ्यालढोका फुटछ । यतिधेरै प्रतिष्ठित सँस्थाप्रति सबै स्थानीयबासी असन्तुष्ट छन्, तर एनआरएनए यस बारेमा बोल्दैन । यतिबिघ्न सेवा गरिसकेपछि एनआरएनएले नक्कली सामान दिदैछ । स्थानीयको चाहनाअनुसार झ्यालढोका सक्कली काठको बनाइदिनु पर्छ ।




