छेकम्पारमा खुलेआम शंकास्पद गतिविधि
छेकम्पारमा बिगत दुईसातादेखि शंकास्पद व्यक्तिहरुको गतिविधि बढिरहेको छ । अत्यन्त संवेदनशील मानिने, तिब्बती सीमानामा रहेको बिकट गाउँबस्तीमा काठमाडौं वौद्ध, जोरपाटीतिरका व्यापारी, व्यवसायीहरु प्राचीन, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका सामग्रीहरु खोज्दैछन् ।
हेलिकोप्टर चार्टर गरेर दुर्गम गाउँमा पुगेका कारोबारीहरुलाई देखेर त्यहाँका स्थानीयबासी त्रसित छन् । उनीहरुको गतिविधि देखेर त्यहाँका बासिन्दा सशंकित छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीलाई पनि अबस्थाको बारेमा जानकारी गराएका छन् ।
मनास्लु क्षेत्र संवेदनशील क्षेत्र भएकाले सरकारले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । वौद्ध धर्म संस्कृतिको खानी, सयौं मात्र नभै हजारौं बर्ष पुराना धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाले भरिभराउ भएको सो ठाउँका अमूल्य तथा बहुमूल्य सामग्री चोरी निकासी, तस्करी नहोओस् भनेर त्यहाँ विशेष परिस्थिति बाहेक हेलिकोप्टर चार्टमा समेत कडाइ छ ।
तिब्बत सीमाना भएकाले पनि जो कोहीको प्रवेश तथा शंकास्पद गतिविधिमाथि कडा निगरानी हुने गर्छ । दुर्घटनामा परी घाइते तथा बिरामी भएकालाई ओसार्न हेलिकोप्टर चार्टर गर्न पाइन्छ । हिमाल आरोही तथा महत्वपूणर् व्यक्ति, व्यक्तित्व आदिले विशेष काम खुलाएर नागरिक उड्यन मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र वडा कार्यालयको समन्वयमा मात्र त्यहाँ हेलिकोप्टर चार्टर गर्न पाउने व्यवस्था छ ।
तर वौद्धका व्यापारीले प्राचीन धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सरसामान संकलन गर्ने ध्येयले हेलिकोप्टर चार्टर गरेर छेकम्पार पुगेका छन् । त्यहाँ गएर पनि खुलेआम अवैध काम गर्न थालेका छन् । उनीहरुको निगरानी कुनै निकायबाट भएको छैन । जसले आउँदा दिनमा पनि यस्ता जघन्य कामले प्रश्रय पाउने निश्चित छ । समयमै सचेत बन्नु जरुरी छ ।




