| सोमवार, कार्तिक २३, २०८३

व्रह्मचारिणी स्कूलको समस्या चाँडो समाधान गर


बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङको व्रह्मचारिणी आधारभूत विद्यालयमा यतिबेला तनाबै तनाब छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

उनीहरुलाई गाउँपालिकाको शिक्षा शाखाले पदच्यूत गरिसकेको पनि छ । त्यति मात्र पनि होइन, उनीहरुमाथि अख्तियारले छानबीन गरिरहेको छ । करिब २३ लाख रुपैयाँको बाउन्स चेक दिएको उजुरीमा उनीहरु दुवैजना माथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।


७०, ७० लाख रुपैयाँको दुईवटा विद्यालय भवन र १५ लाख रुपैयाँको सौचालय निर्माण गर्दा काम गर्ने ठेकेदारलाई रकम भुक्तानी नदिएको, निर्माण सामग्री किनेको व्यापारीलाई पनि भुक्तानी नदिएको आरोप पिडितहरुको छ । समयमा तलब नदिएको, तलब दिँदा पनि पूरा तलब नदिएको, दुईबर्षदेखि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष पनि जम्मा नगरेको शिक्षक, कर्मचारीहरु गुनासो गर्छन् ।
यतिबिघ्न गुनासो आएकाले अभिभावक भेला गरी आफूहरुलाई पनि बोलाउन गाउँपालिकाको शिक्षा शाखाले पत्राचार गरेको थियो, तर प्रअले भेला आव्हान गरेनन् ।

लिखित स्पष्टिकरण माग गर्‍यो, त्यो पत्र पनि उनले टोकरीमा फ्याँके । पालिकाले उनलाई बर्खाती गरेपछि नयाँ नियुक्त प्रअसमक्ष बर बुझारथ गर्न शिक्षा शाखाले आग्रह गर्‍यो त्यो पनि अटेरी गरे । पूरै तलब दिन, संचय कोष, नालकोष दिन अध्यक्षले रोकेको प्रअ सुर्खेतीको दाबी छ ।

भेला बोलाउन, प्रष्टिकरण दिन पनि अध्यक्षले रोकेको उनको आरोप छ । सम्पूणर् कागजपत्र र बिल भरपाई पनि अख्तियारले लगेको बहाना बनाउँदै उनले आम्दानी खर्च सार्वजनिक गरेका छैनन् । करिब २३ लाख रुपैयाँ विद्यालयलाई घाटा परेको विद्यालयका प्रधानाध्यापक धनबहादुर सुर्खेतीको दाबी छ ।
यी सब घटनाको सत्यतथ्य बुझी तत्काल दोषीलाई कारबाही प्रक्रिया अघि बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्