| सोमवार, कार्तिक २३, २०८३

नक्कली कालोपत्रे गर्नेलाई कारबाही गर

गोरखामा रहेर राजनीति गरिरहेका एक शीर्ष नेताले एकदिन टेलिफोन गरी झपारे, ‘तपाई हाम्रा ठेकेदारको मात्र किन समाचार लेखिरहनुहुन्छ, किन हाम्रा निर्माण व्यवसायीको कामको मात्रै चासो राखिरहनुहुन्छ ?’

त्यसदिन गोरखा एप्रोप्रियट निर्माण कम्पनीले आर्खेत सोती सडकको अजुवाखोला पुल निर्माणको काम बर्षौँदेखि अलपत्र पारेको बारे समाचार छापिएको थियो ।
तिनै निर्माण व्यवसायीले सिर्दिबासको स्वास्थ्यचौकी निर्माणको काम बर्षौँसम्म अलपत्र पारेको बारे पनि समाचार लेखिएको थियो । चोरकाटे बारपाक खण्डको सडक कालोपत्रे गर्ने काम बर्षौँसम्म अलपत्र पारेका बारेमा पनि समाचार लेखिएको थियो ।

तिनै निर्माण कम्पनी गोरखा एप्रोप्रिएटका प्रोपाइटर उत्तम भट्टले गत आइतबार धुलोमाथि कालोपत्रे गरे । दुवैतर्फको सवारी आवागमन बन्द गरी नक्कली कालोपत्रे गरेपछि स्थानीयबासीले भोलिपल्टै हातले कालोपत्रे उप्काए । त्यसबारे समाचार भइरल भयो । यसपटक फेरि अर्का नेताले सो कालोपत्रेबारे पत्रकारले प्रोपोगण्डा बनाएको आरोप लगाए ।

देश विकासको काम अलपत्र पार्नेको बिषयमा समाचार संकलन गरेर प्रकाशन गरेकामा धन्यवाद देलान् भन्ने अपेक्षा सबै पत्रकारको हुन्छ । त्यस्ता निर्माण व्यवसायी कारबाहीको भागेदार हुनुपर्छ भन्ने सर्वसाधारणको जस्तै पत्रकारको पनि अपेक्षा हुन्छ । विकासप्रेमी नेताले गलत काम गर्ने ठेकेदारलाई झपार्लान् भन्ने सबैको अपेक्षा हुन्छ तर आफ्नो मुख्य पेशा निर्माणको काम नगरी नेतालाई सयर गराएकै भरमा काम नगर्ने, गरेको काम पनि नक्कली गर्ने ठेकेदारको बचाउ गरेको देख्दा दिक्क, खिन्न लाग्नेगर्छ ।

काम नगर्ने ठेकेदार, नक्कली काम गर्ने ठेकेदार संरक्षित होइन, दण्डित हुनुपर्छ । त्यस्ता नेतालाई संरक्षण गर्न सम्बन्धित कार्यालयले पनि खुट्टा दह्रो बनाउनु पर्छ । काम नगर्ने वा नक्कली काम गर्ने ठेकेदारलाई बचाउ गर्ने नेतालाई नाजवाफ बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्