| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीका बासिन्दालाई नागरिकता दिने व्यवस्था गर

अहिले दुईसातादेखि इलाका प्रशासन कार्यालय सिर्दिबास बन्द छ । सिर्दिबास इलाका प्रशासन कार्यालय बन्द हुँदा चुमनुब्री गाउँपालिकाका सातवटा वडा र धार्चे गाउँपालिकाको वडा नं. १, २ र ३ का बासिन्दा लामो समयदेखि नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएका छन् ।

यतिबेला चाडबाडका कारण सहर गएकाहरु गाउँघर फर्किएका छन् । त्यस क्षेत्रमा दशैँ, तिहार लगायतका चाडबाड नमनाए पनि तल्लो भेगमा चाडबाडका कारण कार्यालय, व्यापार, व्यवसायहरु बन्द भएका छन् । सो अवसरमा गाउँघर फर्किएकाहरुले नागरिकता, राहादानीको सिफारिस बनाउने चाहनेको संख्या धेरै छ । तर कार्यालय नखुल्दा उनीहरु अन्यौलमा परेका छन् ।

त्यसैगरी अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा भर्ना खुलेको छ । जसका कारण पनि नागरिकता बनाउन चाहने र पुराना नागरिकताको प्रतिलिपि बनाउन चाहनेको संख्या अत्याधिक बढेको छ । तर सिर्दिबास इलाका प्रशासन कार्यालय बन्द छ । कार्यालय नखुल्दा नागरिकता बनाउन चाहनेहरु मर्कामा परेका छन् ।

कार्यालयका प्रमुख चाड मनाउन घर गएका र उनको घर परिबारलाई कोरोना संक्रमण भएको छ । जसले गर्दा उनी अझै केही समय कन्ट्याक टे्रसिङमा र क्वारेण्टाइनमा बस्नु पर्ने भएकाले कार्यालयमा हाजिर हुन सक्ने अबस्था देखिदैन ।

साबिकका सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, केरौंजा र उहिया गाविसका बासिन्दाले यहाँबाट बाहेक अन्य कार्यालयबाट नागरिकता बनाउन पाउने व्यवस्था छैन । राहदानीको सिफारिस बरु सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट बनाउन पाउने व्यवस्था छ तर नागरिकता त्यहाँबाट पाइदैन ।
त्यसैले यसै दुख सास्ती खेपिरहने दुर्गम भेगका बासिन्दालाई नागरिकता पाउने सजिलो उपायको खोजी गरिनुपर्छ । नागरिकता प्रमाणपत्र लिन पाउने नैसर्गिक अधिकारबाट वञ्चित गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्