इपिसेण्टर टे्रल र ‘इपिसेण्टर’ विवाद
धार्चे गाउँपालिकाले शनिबार वडा नं. ५ चुङकङमा निर्मित ‘इपिसेण्टर’ पार्क, इपिसेण्टर एडेभेञ्चर ट्रेल, इपिसेण्टर साइकल टे्रलको उद्घाटन गर्यो ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले यी सबै संरचनाको उद्घाटन गरेका थिए ।
भूकम्प जाँदा धार्चे गाउँपालिकाका बिभिन्न ठाउँमा पुरिएर मृत्यू भएका एकदर्जन भन्दा धेरै गोठालाहरुको स्मृतिमा गोठालो पार्क बनाउने योजना पनि उनले सुनाएका थिए ।
‘भूकम्प बेचेर पर्यटन विकास गर्ने, पर्यटन व्यवसायबाट भूकम्प पिडितले आर्थिक लाभ लिने, जीविकोपार्जन गर्ने’ गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले स्पष्ट रुपमा घोषणा गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष गुरुङको भूकम्प बेच्ने जुक्तिसँग मन्त्री लम्साल दङ्ग थिए । पर्यटन विकास गरेर सर्वसाधारणको आयआर्जन बढाउने कार्यमा प्रदेश सरकारले पनि सघाउने मन्त्री लम्सालले बताएका थिए ।
बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, बारपाकका दुई वटा वडाका अध्यक्षहरु लालबहादुर गुरुङ र रोशन विक पनि अघिल्लो दिनसम्मको कार्यक्रममा सरिक थिए । तर इपिसेण्टर पार्कमा आयोजित कार्यक्रममा उनीहरु तीनैजना सहभागी भएनन् ।
बरु आइतबार दिउसो गाउँपालिकाले एउटा विज्ञप्ति जारी गर्यो र इपिसेण्टरको अबस्थिति परिवर्तन नगर्न सचेत गरायो । देश विदेशले चिनेको इपिसेण्टर बारपाक नै रहेकाले जहाँपायो त्यहीँ इपिसेण्टरको नाममा संरचनाहरु बनाउनु न्यायोचित नहुने सो विज्ञप्तिमा उल्लेख छ । इपिसेण्टर टे्रकिङ टे्रल निर्माण गर्दा धार्चे डाँडा आसपास रहेका बारपाक सुलीकोट, आरुघाट र धार्चे तीनै गाउँपालिका-साबिकका आठ गाविसहरु मिलेर गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । तर धार्चेले एक्लौटी रुपमा इपिसेण्टरको अवस्थिति तोडमोड गर्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘भूकम्प बेच्ने र केन्द्र विन्दू दाबी गर्ने’ बिषय अलग अलग हुन् । त्यसैले यसलाई बुझेर विश्लेषण गरौँ ।




