नौ अर्ब प्रकरणको छानविन सुरु गरौँ
गतसाता पालुङ्टार नगरपालिका वडा नं. ६ पौवाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीक नेता डाक्टर बाबुराम भट्टराईले नेपालका तीन ठूलो नेता केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवाले नौ अब कमिशन खाएर बूढीगण्डकीa जलविद्युत आयोजना अलपत्र पारेको भाषण गरे । भाषण मात्र गरेनन्, आफूसँग कमिशन खाएको प्रमाण रहेको र आवश्यक परे प्रमाण देखाउन आफू तयारसमेत रहेको दाबी गरे ।
प्राय नेताका भाषण जोशिला हुन्छन् । सभामा एकछिन कार्यकर्तालाई जोस्याउँछन्, बिस्तारै सेलाउँदै जान्छन् । तर यो भाषण चानेचुने थिएन । मुलुकका एकजना पूर्व प्रधानमन्त्रीले मुलुकका बहालवाला प्रधानमन्त्री र अरु दुईजना पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप लगाएको बिषय थियो ।
बिषयको गाम्भीर्यताले हप्ताभरि नै चर्चा पाइरह्यो । भोलिपल्टै काङ्ग्रेसले विज्ञप्ति जारी गरी प्रमाण देखाउन अन्यथा माफी माग्न चुनौति दियो । त्यसको केहीदिनपछि नेकपाले पनि विज्ञप्ति जारी गरी सोही ब्यहोराको चुनौति दियो ।
तर भट्टराईले सडकमा जहाँतहीँ प्रमाण नदिने तर्क गरे । उच्चस्तरीय छानविन आयोग बनाएमा आफूसँग भएको सबै प्रमाण दिने । सो प्रमाण झुठो ठहरे शीर्ष नेताहरुमाथि मानहानी गरेको अभियोग लगाएमा जस्तोसुकै कारबाही भोग्न तयार रहेको दाबी गरेर ट्वीट गरे, मिडियाहरुमा अन्तर्वार्ता दिए ।
आफ्नै बुई चढी सांसद बनेका बाबुराम अहिले आफैमाथि खनिएको काङ्ग्रेसले आरोप लगाएको छ । नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिप्रति आक्रोशित बनेका भट्टराईले ‘जस्केलाबाट सत्तामा पुगेकाको चुरीफुरी’ भनेर श्रेष्ठप्रति कटाक्ष गरेका छन् ।
घटनाक्रम यहाँसम्म आइसकेपछि राज्यले यसलाई किनारामा पुर्याउन पहल गर्नुपर्छ । मुलुकका शीर्ष नेताहरुमाथि यत्तिका आरोप आइसकेपछि गुपचुप रहनुमा बिभिन्न अनर्थ लाग्न सक्छ । त्यसैले छानविन सुरु गरौँ ।




