विदेशी नागरिकको हेपाहा प्रवृत्ति
ताइवानको ताइचुङ सिटीबाट नेपाल आएका ३६ बर्षका मेङ सेइन चेङ बिगत लामो समयदेखि गोरखामा छन् । उनी गोरखा नगरपालिका ७ रोहटेपानीको नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा बसेको १० बर्ष भन्दा बढि भएको छ ।
केही महिनाअघिसम्म त्यहाँ उनका अरु साथी पनि थिए । उनीहरु धर्म प्रचार गर्थे, चिनियाँ भाषा सिकाउँथे । उनीहरुको अवैध गतिविधि थाहा पाएपछि प्रशासन कार्यालयले जिल्ला छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि उनीहरुले जिल्ला छाडे ।
तर एक महिनाजति भयो फेरि उनी गोरखा आएका छन् । अहिले पनि उनी चिनियाँ भाषा पढाउन थालेका छन् । धर्म प्रचार गर्न थालेका छन् । बिजनेस भिसामा आउने तर धर्म प्रचार गर्ने यो उनको हेपाहा प्रवृत्ति हो । नेपालको, जिल्ला प्रशासनको कमजोरीमाथि प्रहार हो ।
एकपटक गतिविधि निषेध गरेर फिर्ता पठाइसकेपछि फेरि फर्केर आउने, फेरि उही काम दोहोर्याउने, नेपालको ऐन, कानून विपरीत काम गर्ने, त्यस्ता काम ऐन नियम बिपरीत हो भन्ने थाहा नपाए जस्तो गर्ने, यस्तै गतिविधिलाई निरन्तरता दिन के गर्न सकिन्छ ? भनेर सवाल गरिरहने उनको लापार्बाही हो । हेपाहा प्रवृत्ति हो । त्यसैले उनलाई राम्ररी कुरा बुझाएर तत्काल फिर्ता गर्नुपर्छ । नत्र नियन्त्रणमा लिएर नियम, कानून अनुसार कारबाही गर्नुपर्छ ।
अर्कातिर गोरखा नगरपालिका २ कोखे आहालेमा म्यानमारको रखायन प्रान्तबाट ज्यान जोगाउन भागेर आएका शरणार्थीहरु बस्छन् । घर बनाउने काम गर्छन् । काठमाडौंको कपनमा उनीहरुको शिविर छ तर उनीहरु शिबिरबाट बाहिर निस्केर काम गर्छन् । पाँच बर्ष भइसक्यो, सरकारले देखेर पनि नदेखे झैँ गर्छ । यो पनि लापार्बाही हो । यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्छ ।




