डाँडाको नाम विदेशीबाट नामाकरण गर्नु ठिक हो ?
गोरखाको सामागाउँमा बहराइनका राजकुमार मनास्लु हिमाल आरोहणका लागि आएका छन् । यसअघि छ हजार मिटर अग्लो सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरी ८१६३ मिटर अग्लो हिमाल आरोहण गर्न मनास्लु आएका हुन् ।
उनी अहिले बेस क्याम्पमा छन् । क्याम्प २ जाने आउने गरेर अभ्यास गरिरहेका छन् । कोरोना महामारीका बेला पनि जोखिम मलेर उनी नेपाल र त्यसमा पनि गोरखा आएका हुन् । उनले नेपाललाई रोज्नु, गोरखालाई रोज्नु हाम्रा लागि धेरै खुशीको कुरा हो । यसमा उनी धन्यवादका पात्र हुन् र हामी भाग्यमानी हौँ ।
उनको यो भ्रमणबाट हामीले धेरैभन्दा धेरै लाभ लिन सक्नुपर्छ । सामागाउँका बासिन्दाले यथेष्ट सम्मान गरेर उनलाई आल्हादित बनाएका छन् । त्यसबापत राजकुमारले यथोचित सहयोग गर्ने वचन दिएका छन् ।
सामागाउँबासीले बिगतमा नेपालका राजा वीरेन्द्र त्यहाँ भ्रमणमा जाँदा त्यहाँको एउटा प्रमुख तालको नाम वीरेन्द्रलाई दिए, वीरेन्द्र ताल बनाए । राजाको नामको ताल भनेर सामान्य ज्ञानमा लेखियो । जसले पर्यटन विकासमा टेवा पुर्यायो ।
अहिले बहराइनका राजकुमारको भ्रमणको अवसर पारेर फेरि त्यहाँका बासिन्दाले एउटा डाँडाको नाम बहराइनका राजपरिबारलाई समर्पण गरे । त्यस डाँडाको नामबाट आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन हुने गाउँलेको विश्वास लिए ।
यसले अपनत्व, मौलिकता, अस्तित्व, अस्मितामाथि प्रश्न चिन्ह खडा गर्छ कि भनेर बिचार मन्थन भएको छ । तर्कका लागि तर्क ठिकै छ । तर यस्ता अभ्यास अन्यत्र पनि भएका छन् । पोखराको मुख्य झरना पाताले छाँगोको नाम डेबिडको नामबाट नामाकरण गरियो । अन्य ठाउँहरुमा पनि यस्तो अभ्यास छ । त्यसैले तर्क मात्र गरौँ, आलोचना नगरौँ । स्थानीयबासीको पर्यटन प्रवद्र्धनको पहललाई सकारात्मक सोचौँ ।




