| सोमवार, कार्तिक २३, २०८३

छेकम्पारबासीको सडक सपनामाथि आघात

२०६९ सालमा जव डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भए, उनले गृहजिल्ला गोरखाको लाइफलाइन मानिने उत्तर दक्षिण राजमार्ग निर्माणको सपना कोरे । ङुइलाभञ्ज्याङ, छेकम्पार, चुम्चेत, सिर्दिबास माछाखोला सडक निर्माण भएपछि यहाँबाट ठोरी जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्ने उनको लक्ष्य थियो ।

सो सडक बनेपछि सिर्दिबास, चुम्चेत, छेकम्पारबासीलाई तिब्बत आवतजावतमा ज्यादै सहज हुने अवसर थियो । तिब्बत सरकारले पनि ङुइला नाका बाह्रै महिनाका लागि खुल्ला गरेको थियो । सडक निर्माण भएर गाडी आवतजावत गर्न पाएमा यताका जटिबुटी लगायतका कृषि उपज, जडिबुटीलगायतका वनसम्पदा निर्यात गरी आर्थिक लाभ लिने, दैनिक उपभोगका सामग्री सस्तो मूल्यमा प्राप्त गर्ने सो क्षेत्रका बासिन्दाको सपना थियो ।

सबैभन्दा छोटो उत्तरदक्षिण राजमार्ग बन्यो भने सडक क्षेत्र आसपासका बस्तीको पनि जनजीवन अवश्य परिवर्तन हुने अनुमान थियो । त्यस्तै सामान आयात निर्यात गर्ने छोटो मार्ग बनेपछि यस क्षेत्रमा व्यापारिक विकास हुने आशा थियो ।
करिब ४० लाख खर्चेर हेलिकोप्टरबाट ब्याकहुलोडर छेकम्पारमा उतारियो । तर कामले गति लिएन । एकबर्ष, दुईबर्ष, तीनबर्ष हुदै अहिले नौ बर्ष भएको छ, तर करिब २० किलोमिटर सडक निर्माण भएपछि काम ठप्प भएको छ ।

काम ठप्प भएको पनि करिब दुई बर्ष भइसकेको छ । न ठेकेदारले बजेट अनुसारको काम गर्‍यो, न सरकारले सो सडकका लागि थप बजेट बिनियोजन गर्‍यो । २०७४ सालबाट सुरु भएको लार्के जाने सडक नेपाली सेनाले धमाधम निर्माण गरिरहेको छ तर २०६९ सालमा सुरु भएको सो सडकको काम अलपत्र छ ।
छेकम्पारबासीको गाडी चढ्ने सपना तुहिन नदिनका लागि सम्बन्धित निकायको ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस्