| सोमवार, कार्तिक २३, २०८३

औद्योगिक क्षेत्र निर्माणका लागि ताकेता गरौँ


पालुङ्टार ७ च्याङ्लीमा निर्माण हुने भनेर चर्चा गरिएको गण्डकी प्रदेशस्तरको औद्योगिक क्षेत्रलाई गोरखा र सिँगो प्रदेशको विकासको लाइफलाइन मानिएको छ । करिब १० हजार रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रमा करिब पाँचसय वटा उद्योग, कलकारखाना सञ्चालन हुने भनेर चर्चा भएको थियो ।

यहाँ सञ्चालित उद्योगले आर्थिक तथा बिभिन्न उत्पादनमा गण्डकी प्रदेश आत्मनिर्भर हुने महत्वाकांक्षा स्थानीयबासीसामु सुनाइएको थियो । तर बिगत तीनबर्षदेखि चर्चा चलेको प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण प्रक्रियाको काम एकबर्षदेखि अलपत्र भएको छ । नगरपालिका बनेपछि यहाँ बिभिन्न उद्योग कलकारखाना खुल्ने हल्ला गरी घरघडेरी बेचबिखनले व्यापकता पाएको थियो ।

काठमाडौं, पोखरा, नारायणगढ जस्ता ठूला सहरको नजिक पर्ने, मस्र्याङ्दीको किनारामा पर्ने हुँदा पानीको पर्याप्त उपलब्धता, राजमार्गको छेउ तर एकान्त ठाउँ भएकाले यहाँ सरकारले औद्योगिक क्षेत्र नबनाए पनि निजी स्तरबाट उद्योगहरु खुल्नेछन् भन्ने हल्लाले यहाँको जग्गाको भाउ आकासिएको थियो ।

जसले गर्दा प्रस्तावित औद्योगिक क्षेत्रले १० हजार रोपनी जग्गा लिन खोज्दा स्थानी जग्गाधनी, जग्गा कारोबारीले बिभिन्न बाधा अड्चन निकाली, स्थानीयबासी उचाली औद्योगिक क्षेत्र स्थापना कार्यमा भाँजो हाल्ने प्रयास भएको थियो ।


धेरै मिहिनेत गरेपछि स्थानीयबासी जग्गा दिन मञ्जुर पनि भए । तर त्यसलगत्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानमा तेल हालेर बस्यो । जसले गर्दा अहिले प्रक्रिया अघि बढ्नु त कता कता, त्यसको कुनै चर्चा नै छैन । यदि यहाँ औद्योगिक क्षेत्र बन्यो र उद्योगहरु खुले भने उपरोक्त महत्वाकांक्षा सत्य सावित हुन पनि सक्छन् । त्यसैले नगरपालिका तथा अन्य निकायले लिमिटेडलाई कानमा तेल हालेर बस्न नदिऔँ । प्रक्रिया अघि बढाउन ताकेता गरौँ ।

प्रतिक्रिया दिनुहोस्