| आइतवार, कार्तिक २२, २०८३

विकासका काममा भाँजो हाल्ने नेता जनपक्षीय हुदैन

गोरखाका ११ वटा पालिकामध्य सबैभन्दा ढिला गरी गण्डकी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको विवादको टुंगो लागेको छ । वनटारमा गाउँपालिकाको केन्द्र बनाउने भन्ने प्रस्ताब अल्पमतमा परेपछि अहिले कार्यालय रहेको हटिया वा नजिकैको ओखलडाँडामा रहने टुंगो लागेको छ ।
गाउँपालिका स्थापना भएको २०७३ सालमा हो । स्थापना हुनासाथ पहिलो काम गाउँपालिकाको केन्द्र तोक्ने हो । त्यसपछि बजेट बिनियोजना गरेर कार्यपालिकाको प्रशासनिक भवन बनाउनु पर्ने थियो । तर अहिले चार बर्ष बितिसकेको छ । अझैसम्म पनि केन्द्र नतोकिने लज्जास्पद हो । केन्द्र विवादकै टुंगो नलाग्दा निर्धारित समयभन्दा तीन महिनासम्म गाउँसभा नहुनु झन लज्जाजनक थियो ।
यो लज्जा गाउँपालिकाको नेतृत्वको हो । तर नेतृत्वको मात्र लज्जा होइन, गाउँ कार्यपालिकाको पनि हो । केन्द्र तोक्न नसक्ने सावित गराउन खोज्ने शक्तिको पनि बद्नाम हो । किनभने बाहिरबाट हेर्दा त्यहाँ असमभार राजनीतिक नेतृत्वहरु रहेछन् भनेर प्रष्ट देखिन्छ । त्यहाँ गाउँसभा समेत रोक्ने, विकासका हरेक कदममा भाँजो हाल्ने प्रवृत्तिको हावी रहेछ भनेर पुष्टि हुन्छ ।

हरेक विवाद समझदारीमा टुंगिने, विकासका निणर्यहरु छिटो भन्दा छिटो हुने र कार्यान्वयनमा तिब्रता भयो भने त्यो ठाउँमा राजनीतिक दलका सच्चा नेतृत्व रहेछन् भनेर बुझ्न सकिन्छ ।
राजनीति कसका लागि गर्ने ? यदि राजनीति जनताका लागि गर्ने हो भने जनताले चाहेको विकासका काममा भाँजो हाल्ने प्रवृत्तिलाई के जनपक्षीय भन्न सकिन्छ ? जनताले चाहे अनुसार निणर्य गर्ने, निणर्य गर्न सहज वातावरण बनाउने नेता नै अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्