| आइतवार, कार्तिक २२, २०८३

पाँच महिनामा करीब २२ हजार युनिट बिजुली चोरी

अनुपमा खनाल :
गत साउन महिनायता गोरखामा २१ हजार सात सय ८३ युनिट विद्युत चोरी भएको पाईएको छ । नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रका अनुसार साउन यता विभिन्न चरणमा विद्युत चोरी गर्नेको पहिचान गरी कारबाही थालेको हो ।
विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत हालसम्म विद्युत चोरी गर्ने ६१ घर तथा घरेलु उद्योगलाई कारबाही गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । ‘विद्युत चोरी गर्नेबाट जरिवाना मात्रै पाच लाख ९६ हजार दुई सय १४ रुपैयाँ उठाउनु पर्ने छ । ’ उनले भने ‘ केहिले जरिवाना बुझाएर जफल गरिएका सामान लगिसके, केहिले लैजान बाँकी नै छ ।’ जिल्लामा घरेलु प्रयोजन सहित घरेलु उद्योग सञ्चालनमा पनि चोरीको विजुली प्रयोग गर्ने गरेको पाईएको छ । ग्रील उद्योग, फर्निचर, कुटानी पिसानी मिल सञ्चालन गर्ने गरेको पाईएको गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए । जिल्लामा बाईपास गर्ने र हुकिङ गरी विद्युत चोरी गर्नेको संख्या धेरै रहेको प्राधि करणले जनाएको छ ।
गोरखामा हाल १२.६ प्रतिशत विद्युत चुहावट रहेको पाईएको छ । जिल्लामा प्राविधिक र अप्राबिधिक दुबै कारण जिल्लामा १२ दशमलब ६ प्रतिशत विद्युत चुहावट हुँदै आएको केन्द्र प्रमुख न्यौपानेले बताए । आर्थिक बर्ष २०७३ ÷७४ मा १३ दशमलब १ प्रतिशत चुहावट रहेकोमा चुहावट नियन्त्रण अभियानले निरन्तरता पाएसँगै चुहावटको क्रम घटेको उनको भनाई छ ।
प्राविधिक कारणले हुने चुहावट नियन्त्रण गर्न गोरखा वितरण केन्द्रले हाल टूान्सफर्मर विस्तार, काठेपोल विस्थापन, विजुलीका तार तथा पोल संरक्षण तथा मर्मत लगायतका काम गरिरहेको छ । अप्राबिधिक कारण अन्तरगत उपभोक्ताले विद्युत चोरी गरेर तीन देखि चार प्रतिशत चुहावट हुने गरेको पाईएको छ ।
विद्युत चोरी नियन्त्रणको अभियान जारी रहने केन्द्र प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्