
गोरखा बजारका सफल फूल किसान ः पन्ध्र हजार लगानी, साढे दुई लाख आम्दानी
दरौंदी समाचारदाता ः तिहारको समयमा फूल बेचेरै एक किसानले साढे दुईलाख रुपैयाँ कमाएका छन् । सोलुखुम्बु घर भई हाल गोरखा नगरपालिकाको हरमटारीमा ब्यबसायिक तरकारी खेती गर्दै आएका एकुबहादुर राईले तिहारमा सयपत्री पूmल बेचेर साढे दुईलाख रुपैयाँ कमाएका हुन् । १५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका उनले यो बर्ष पाँच रोपनी जग्गामा सयपत्री फूलको ब्यबसायिक खेती गरेका थिए । करीब आठ क्विन्टल फूल बिक्री गरेर साढे दुईलाख रुपैयाँ कमाएको किसान राईले जानकारी दिए । खुद्रा फूल प्रतिकिलो रु. तीनसय र थोक मूल्य प्रतिकिलो रु. दुईसय पचासका दरले फूल बेचेको उनको भनाइ छ । ‘करीब १५ हजार रुपैयाँ खर्च भएको थियो’ उनले भने ‘बिउ जमाएको एकसय ४० दिनमा फूल बेच्न तयार भयो । साढे २ लाख रुपैया कमाएँ ।’ गोरखा बजार सहित तनहुँको आबुखैरेनी, पोखरा, काठमाडौँ, चितवन लगायतका सहरमा फूल बिक्री गरेको उनले बताए ।
सुरुमा तरकारीको सुरक्षाका लागि लगाइएको फूल किन्न आउनेको लर्को लागेपछि फूल खेतीलाई ब्यवसायिक बनाएको उनले जानकारी दिए । ‘सयपत्री फूलको बासनाले तरकारीमा लाई किरा लाग्दैन भन्ने थाहा पाएँ’ उनले भने, ‘पोहोर बारीका कान्ला र डिलमा केही बोट सयपत्री सारेको थिएँ, त्यो बेच्दा एक लाख रुपैयाँ कमाई भयो । त्यसैले यो साल पाँच रोपनीमा फूल सारेको थिएँ ।’ चाडबाडमा भारतबाट हुने फूल आयातलाई न्यूनिकरण गर्नका लागि अर्कोबर्ष पनि फूलखेतीलाई ब्यबसायिक खेतीकै रुप अघि बढाउने उनको सोच छ । साविकको जिल्ला प्राविधिक कार्यालयका खानेपानी तथा सरसफाई शाखाका प्राविधिक कर्मचारी राई हाल भीमसेन थापा गाउँपालीकामा कार्यरत छन् । वार्षिक ५० हजार रुपैयामा उनले जग्गा भाडामा लिएर ब्यबसायिक तरकारी खेती गर्दै आएका छन् ।




