| मङ्लबार, असार १५, २०८३

प्रोकमा सामुदायिक होमस्टे संचालन

चुमनुब्री गाउँपालिका ४ प्रोकमा पालिकामै पहिलो पटक समुदाय स्तरको होमस्टे संचालनमा आएको छ । पर्यटन बोर्ड, दिगो पर्यटन परियोजना तथा मनासलु संरक्षण क्षेत्र परियोजना (एमक्याप)को सहयोगमा ‘प्रोक पाल्री सामुदायिक होमस्टे’ संचालनमा आएको त्यहाँका वडाअध्यक्ष पेमा ग्याल्पो लामाले बताए ।

प्रोकको १० घरधुरीलाई समेटेर होमस्टे संचालनमा ल्याएको लामाले जानकारी दिए । प्रोक पाल्री सामुदायिक होमस्टे मनासलु क्षेत्रअन्तरगत समुदायिक स्तरमा संचालनमा आएको पहिलो होमस्टे रहेको उनको दाबी छ । स्थानीय आमा समूहको सक्रियतामा होमस्टे संचालनमा ल्याएको वडाअध्यक्ष लामाको भनाई छ ।

निमा ढिकीको संयोजकत्वमा ७ सदस्ययी समिति गठन गरेर प्रोक पाल्री सामुदायिक होमस्टे संचालनमा आएको हो । पर्यटकीय काल ताल ट्रकलाई मध्यनजर गरेर होमस्टे संचालनमा ल्याएको होमस्टे संचालक निमाले बताएकी छिन् । उत्तरी गोरखाको प्रोक गाउँ मनास्लु सर्किट अन्तरगत पर्ने भएकाले पनि त्यहाँ पर्यटकको चाप लाग्ने गरेको छ ।

होमस्टे संचालनका लागी दर्तादेखि आवश्यक तालिम तथा अभिमुखीकरणमा एमक्यापले सहयोग गरेको हो । एमक्यापले होमस्टे संचालनका लागि आवश्यक सामाग्रीहरु समेत वितरण गरेको कार्यालयका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए । प्रोक सामुदायिक होमस्टे संचालनमा आएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने तथा स्थानीय आयआर्जन बृद्धि हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्