| बिहिबार, बैशाख १६, २०८३

गोरखामा जाली नोट सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

गोरखामा जाली नोट सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैँक अन्तरगतको मुद्रा व्यवस्थापन विभागको आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको बैँकर्स क्लव गोरखाका अध्यक्ष जीवन बानियाँले बताए ।

कार्यक्रममा सक्कली र नक्कली नोट छुट्याउने तरिका एवं जाली नोट पहिचानको तरिकाको बारेमा सचेतना गरिएको उनले जानकारी दिए । उनका अनुसार जिल्लाका बैँक एवं वित्तीय संस्थाहरु, व्यवसायी, प्रहरी, कर्मचारी र विद्यार्थी गरी १२० जनालाई कार्यक्रममा अभिमुखीकरण गराइएको थियो ।

अन्जानमा नक्कली नोट हात पर्दा सर्वसाधारण ठगिने मात्र नभएर कानुनी झमेलामा समेत पर्ने जोखिम हुनसक्ने भन्दै मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक कुशल श्रेष्ठले सक्कली र जाली नोट कसरी पहिचान गर्ने भनेर कार्यक्रममा जानकारी गराएका उनको भनाइ छ ।

जाली नोटको छपाई, ओसारपसार तथा कारोबार गर्नु कानुनी रूपमा अपराध हो र यसमा संलग्न हुनेहरूलाई जरिबाना वा कैदको सजाय हुनसक्ने व्यवस्था रहेको छ । यसैले सर्वसाधारणलाई नोटको सुरक्षण र पहिचानबारे अवगत गराउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्श लगायत संघसंस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्