
गोर्खाली बचत तथा ऋण सहकारीको नाफा करिव ३६ लाख
गोरखा नगरपालिका–६ शक्तिचोकस्थित गोर्खाली बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा करिव ३६ लाख नाफा कमाएको छ । शनिवार सम्पन्न संस्थाको १३ औं बार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष तिलकजंग केसीले गत आर्थिक बर्ष २०८१/८२ मा संस्थाको कुल मुनाफा ३५ लाख ९५ हजार रहेको बताए ।
संस्थाको हालसम्मको शेयर पुँजी २ करोड ४ लाख र संस्थागत पुँजी ५० लाख २५ हजार रहेको उनले जानकारी दिए । उनका अनुसार संस्थाले हालसम्म ९ करोड ४९ लाख ९६ हजार ऋण लगानी गरेको छ भने संस्थाको कुल बचत ८ करोड ४८ लाख ९३ हजार रहेको छ । हाल १ हजार १६ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष बिदुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष केसीले आर्थिक र सचिव कुमार तिवारीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षा समिति, ऋण समिति र लेखा सुपरिवेक्षण समितिले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा उत्कृष्ट ऋणीहरु सम्मानित भएका छन् ।
बालकृष्ण परियार, महेश श्रेष्ठ र निराकुमारी बस्नेतलाई खादा ओडाएर कदरपत्रले सम्मान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा साधारण शेयर धनीको तर्फबाट यदुप्रसाद अधिकारी, सुनिता केसी लगायतले मन्तव्य राखेका थिए ।




