
संघीय समपूरक अनुदान अन्तरगत गोरखा १ मा २४ करोडको योजना
नेपाल सरकारको संघीय समपूरक बजेट अन्तरगत आर्थिक वर्ष २०८२÷८३ का लागि गोरखामा २४ करोड ४५ लाख रुपैँयाबजेट बिनियोजन भएको छ । संघले समपूरक अनुदान अन्तरगत विभिन्न १८ शीर्षकका योजनाहरुका लागि उक्त बजेट बिनियोजन गरेको हो ।
संघले काठमाडौं पोखराको वैकल्पिक राजमार्गका रुपमा बिस्तार गर्न लागेको सिउरेनीटारदेखि रबर उद्योगसम्मको सडकका लागि दुई करोड ३१ लाख रुपैँया बिनियोजन गरेको छ । आरुघाट गाउँपालिका १, २(मान्बु) र धार्चे गाउँपालिका ६ र २ मा पर्ने चुवाडाँडा पेल्चेत कटुन्जे डण्डरे खोला धुन्चेत रिचेत खोला हुँदै काशीगाउँ केरौजा रुन्चेत जाने सडक स्तरोन्नतिका लागि रु ३ करोड बिनियोजन गरेको हो ।
धार्चेको भिसी थमन मार्ग(माछाखोला–सिङ्ला)का लागि २२ लाख रकम बिनियोजन भएको छ । चुमनुब्रीको केन्द्र समेत रहेको बुढीगण्डकी फिलिमबजार मोटर बाटो निर्माण तथा स्तरोन्नति योजनाका लागि रु एक करोडबिनियोजन भएको छ । यस्तै, आरुघाटको सोती, मान्बुबेशी, कटुन्जे पेल्चेत, धुञ्चेत, काशी गाउँ, केरौँजा सडकका लागि रु दुई करोड ६५ लाख रुपैँया बिनियोजन गरेको हो ।
आरुघाट गाउँपालिका अन्तरगत नै आरुघाट भन्ज्याङ, आरुटार, फूलपातीडाँडा, आरुआर्वाङ, आप्रिक, थुमी, लापु, भिरकुना सडकका लागि रु८७ लाख बिनियोजन भएको छ । यस्तै, भीमसेनथापा गाउँपालिकाको भीमसेनथापा चक्रपथको तेस्रो खण्ड निर्माणका लागि दुई करोड ६९ लाख र भीमसेनथापा सङ्ग्रहालय एवं पार्क निर्माणका लागि रु एक करोड ३७ लाख रुपैँया बिनियोजन गरिएको छ ।
गोरखा सदरमुकामको बसपार्कदेखि हरमटारी हुँदै खोलखोलेसम्मको सडकमा फुटपाथ निर्माणका लागि ९१ लाख रुपैँया बिनियोजन भएको छ । संघले सहिदलखन गाउँपालिकाको नामजुङ, घैरुङ, ताक्लुङ, मनकामना सडकका लागि रु ८७ लाख रुपैँया बिनियोजन गरेको छ ।
गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारदेखि वडा नम्बर ७को कार्यालय भवन सडकस्तरोन्नतिका लागि रु एक करोड ४५ लाख बिनियोजन भएको छ । गण्डकीकै कुलबेसी, दलभन्ज्याङ, कौदी आमडाँडा बतासे सडक स्तरोन्नतिका लागि रु ८७ लाख बिनियोजन भएको बताइएको छ ।
चुमनुब्रीको सिद्ध गणेश आवासीय विद्यालय छात्रावास निर्माण योजनाका लागि रु एक करोड १० लाख बजेट बिनियोजन भएको छ भने धार्चे गाउँपालिकाको माछिखोला खानेपानी योजनाका लागि संघीय समपूरक अनुदान अन्तरगत रु एक करोड ५० लाख बिनियोजन गरिएको छ ।
आरुघाटको धोरत, भूतखोला धुन्चेत कोम्राङ सिंचाई योजनाका लागि रु ६८ लाख, भीमसेनथापाका आमा बालबालिका तथा किशोर किशोरीको पोषण सुधार आयोजनाका लागि रु एक करोड १२ लाख बिनियोजन भएको छ ।
सहिदलखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकीमा उपकरण व्यवस्थापनका लागि रु एक करोड ६ लाख रुपैँया बिनियोजन भएको छ भने गण्डकी गाउँपालिकामा चेपाङ, दलित तथा विपन्न विद्यार्थीहरूको बालमैत्री र सिकाइमैत्री बसाइ रूपान्तरण तथा गुणात्मक विकास सम्बन्धी कार्यक्रमका लागि रु एक करोड ६५ लाख रुपैँया बिनियोजन गरिएको छ ।




