| आइतवार, कार्तिक २२, २०८३

झिँगटेदेखि अश्राङ ठाँटीबजारसम्मसडक कालोपत्रे हुँदै

भिमसेनथापा गाउँपालिका–६ को झिँगटेदेखि अश्राङ ठाँटीबजारसम्म साँढे दुई किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । गोरखा सडक योजना कार्यालयको रु दुई करोड १० लाख बजेटमा सडक कालोपत्रेको काम सुरु भएको हो ।

कालोपत्रेका लागि मिर नेपाल कन्स्ट्रक्सनसँग गत पुषमा नै ठेक्का सम्झौँता भएको भिमसेनथापा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष रञ्जन रिमालले बताए । यही आर्थिक वर्षभित्र कालोपत्रेको काम सम्पन्न हुनेगरी धमाधम काम संचालन भईरहेको उनले जानकारी दिए ।

‘ठेक्काको म्याद यही आर्थिक वर्षसम्मको छ । अहिलेको गतिमा काम संचालन भईरहे अबको १५–२० दिनमा सम्पन्न हुन्छ’, उनले भने, ‘यो खण्डमा पालिका गत वर्ष सव–बेसको काम गरेको हो । अहिले बेस र कालोपत्रेका काम हुँदै छ ।’
पालिकाले गत वर्ष सव–बेस र १२० मिटर सडक ढलानको काम सम्पन्न गरिसकेको रिमालले बताएका छन् । सडक कालोपत्रेको काम सम्पन्न भएसँगै अश्राङ, बोर्लाङ, घाटबेसी, आरुघाट हुँदै धादिङसम्म सहजै रुपमा आवत जावत गर्न सकिने उनको भनाई छ ।

सडक कालोपत्रे भएसँगै स्थानीयहरु उत्साहित देखिएको वडाअध्यक्ष रिमाल बताउँछन् । उनी भन्छन्, ‘यो रुटमा अश्राङ, बोर्लाङका स्थानीयबासी, विद्यार्थीहरु हिड्ने गर्छन् । कालोपत्रे भएपछि विद्यार्थीलाई विद्यालय जान र बिरामीलाई स्वाथ्य चौकी जान असाध्यै सजिलो हुनेछ । स्तरीय सडक नहुँदा यातायातको समस्या थियो । बर्खाको बेला एम्बुलेन्स लगायत अति आवश्यक सवारी साधानहरु आउन सक्ने अवस्था थिएन । सवारी साधानहरु खाल्डोमा फसेर डोजर ल्याउनुपर्ने अवस्था हुन्थ्यो ।’ सडक कालोपत्रे भएसँगै स्थानीयहरुलाई आवत जावतमा सहजता आउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्