| सोमवार, असार १, २०८३

हिमाली जडीबुटी संरक्षण गर्न दार्चुृलामा ५ वर्षे परियोजना सुरु

दार्चुलामा हिमाली जडीबुटीहरुको संरक्षण र दिगो व्यापारको लागि पाँच वर्षे परियोजना शुभारम्भ गरिएको छ । सामुदायिक वन उपभोक्त्ता महासंघ नेपाल र एन्साब नेपालको सहयोगमा दिगो, जिम्मेवार र समतामुलक व्यापारका माध्यमबाट जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित सो परियोजना शुभारम्भ गरिएको हो ।

सदरमुकाम खलंगामा आयोजित समारोहका बीच प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सो परियोजनाको शुभारम्भ गरेका हुन ।

संरक्षण र व्यापारका हिसावले महत्वपूर्ण जडीबुटीको मुख्य उत्पादन क्षेत्र रहेका दार्चुलासहित नेपालका २७ वटा जिल्लालाई समेटेर सो परियोजना लागू भएको एन्साबका चण्डिका अम्गाईले बताए ।

यो कार्यक्रमले सुदूरपश्चिमका दार्चुला, बझाङ र बाजुरालाई समेट्ने छ ।
जिल्लामा पाइने जडीबुटीलाई दिगोपना दिनका लागि र जडीबुटीको उम्रिने सबै समय पूरा भएपछि निकासी गर्नुपर्नेमा सरोकारवालाको जोड छ

कार्यक्रममार्फत जीविकोपार्जनमा सुधार भर्इ गरिवी न्यूनीकरण हुने, २० हजार जडिबुटी संकलकले तालिम पाउने र कम्तिमा ४० प्रतिशत महिला सहित १० हजार जडिबुटी संकलनको आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।

यस्ता जडिबुटीहरुमा अतिस, काकोली, कुड्की, गुच्ची च्याउ, जटामासी, पदमचाल, पाँचऔंले, यार्सागुम्बा, सतुवा, सुगन्धवाल, सेतकचिनी र लेकको पाखनबेद रहेका छन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको तथ्याङ्कअनुसार जिल्लामा ७५ प्रकारका जडीबुटी पाइने गरेको छ ।

सो अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ दार्चुलाका अध्यक्ष जनकसिह ठगुन्नाले समृद्धि, आर्थिक विकास, दिगो वन व्यवस्थापन र जडिबुटीको संरक्षण तथा व्यापारका लागि यो परियोजनाले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।
कार्यक्रममा पालिका र सामुदायिक वन छनोटका प्रक्रियाबारे वन अधिकृत सुशिला भट्ट, एन्साब परियोजनाबारे जानकारी चण्डीका अमागाई तथा हिमाली जडीबुटीको संरक्षण र दिगो व्यापार परियोजनामा फेकोफनको भूमिका विषयमा महासंघका केन्द्रीय सदस्य जगदीशचन्द्र अवस्थीले प्रस्तुतिकरण गरेका थिए ।

फेकोफन दार्चुलाका अध्यक्ष जनकसिह ठगुन्नाको अध्यक्षतामा भएको परियोजना शुभारम्भ कार्यक्रमको उद्देश्यमाथि एन्साबका शंकर भट्राईले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्