
४७ लाखको लागतमा चुम्चेतमा बन्यो ‘होटल मदरल्याण्ड चुम’
मनास्लु क्षेत्र आउने पर्यटकलाई लक्षित गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतमा ‘होटल मदरल्याण्ड चुम’ संचालनमा आएको छ । करिव ४७ लाखको लागतमा निर्माण भएको उक्त होटल यही भदौ १ गतेबाट संचालनमा आएको होटल संचालक सरोज लामाले बताए । उनी वडा नम्वर ७ का अध्यक्ष समेत हुन् ।
परम्परागत शैलीमा निर्माण गरिएको उक्त होटलमा ४५ जना सम्म पाहुना अट्ने लामाले जानकारी दिए । ‘एट्याच बाथरुम सहितका रुमहरु छन्,’ उनले भने, ‘प्राकृतिक रुपमा न्यायो हुने डाइनिङ हल पनि छ ।’ पारिवारिक वातावरण रहेको बताउँदै उनले भरिया र गाइडको व्यवस्था समेत रहेको जानकारी गराए । उनका अनुसार होटलमा फ्रि वाइफाइको समेत सुविधा रहेको छ ।
‘अर्गानिक लोकल खानेकुराका परिकारहरु पाइन्छन्,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई घोडाको पनि व्यवस्था छ ।’ पछिल्लो समय युवा बिदेशीने क्रम बढ्दै गएको प्रति दुख व्यक्त गर्दै वडाध्यक्ष लामाले आफू भने स्वदेशमै केही गर्न चाहेको बताए । उनले थपे, ‘मेरा अरु युवा साथीहरु बिदेश गइरहेको बेला म भने स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने सोचले यतै लगानी गरेको हुँ ।’ भौगोलिक रुपमा व्यवसाय गर्न गाह्रो हुने उनले गुनासो गरे ।




