
लघुवित्त पीडितको आन्दोलनको औचित्य
लघुवित्त वित्तीय संस्थाले शोषण गरेको, अत्याचार गरेको भनेर बिगत लामो समयदेखि लघुवित्तका ग्राहकहरु आन्दोलनमा छन् । पैसा तिर्नु छ भन्दैमा लघुवित्तका कर्मचारीहरु घरघरमा जाने, भाडाकुँडा, लत्ताकपडा जे भेट्छन् त्यही उठाउने गरेको भन्ने ती पिडितहरुको गुनासो छ ।
जहिले पायो त्यहीलै, जहाँ पायो त्यहीँ पैसा माग्ने, हुर्मत लिने काम गरेको गुनासो उनीहरुको छ । साथै घरजग्गा लिलामी गरेर उठिबास लगाएको, दुव्र्यवहार गर्ने गरेको, हातपात समेत गर्ने गरेको गुनासो पिडितहरुको छ ।
ऋण तिर्न नसकेको भन्दै अमानवीय व्यवहार समेत गर्ने गरेको घटना थियो । लघुवित्तको ऋण तिर्न नसकेर चेपाङ गाउँमा एक महिलाले आत्महत्या गरेको घटना पनि थियो । गाउँघरतिर अहिले पनि लघुवित्तको पैसा तिर्न नसकेर सदाका लागि थातथलो छाडेर अज्ञात स्थलतर्फ बसाइँ सर्ने गरेको उदाहरण प्रसस्त भेट्न सकिन्छ ।
यस्तै पिडाबाट आजित भएर अहिले पिडितहरु एकजुट भएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुको माग लघुवित्तले ग्राहकप्रति अमानवीय व्यवहार गर्न नपाउने, हुर्मत लिन नपाउने, चक्रवर्ती व्याज लिन नपाउने, व्याजदर पनि उच्च गर्न नपाउने जस्तो हुनु उचित छ । तर अहिले आन्दोलन विकृत हुदै गएको छ ।
लघुवित्तको ऋण तिर्न नपर्ने भनेर तथाकथित नेताले देखाएको ललिपपको पछि लागेर अहिले आन्दोलनकारीको लाममा लाग्नेको भीड ठूलो छ । कसैलाई राजनीतिको भ¥याङ चढ्नुछ भन्दैमा लघुवित्तको ऋण तिर्नुपर्दैन भन्ने जस्ता अवाञ्छनीय, झुठो आश्वासन दिन हुन्नथ्यो । कसैले निहित स्वार्थका लागि यस्तो प्रलोभन दियो भनेर बुझ्दै नबुझी आन्दोलनमा लाग्नु पनि उचित हुदैँन ।
लिएको ऋण तिर्नुपर्दैन भनेर कसैले भन्न सक्दैन । कि गरिब, विपन्न समुदायको सबै ऋण सरकारले तिरिदिने आँट गर्नुप¥यो । टाट पल्टेर राष्ट्रसेवक कर्मचारीलाई बेलामा तलब खुवाउन पनि आन्तरिक ऋण लिने सरकारले यस्तो घोषणा गर्नु पनि सम्भव छैन । तसर्थ मनासिब माग राखेर आन्दोलनमा उत्रिनु उचित होला ।




