| आइतवार, कार्तिक २२, २०८३

मृगौला पिडितहरुलाई जोन घलेले दिए जनही रु ५० हजार

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा रहेका मृगौला रोगीहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । लापुबेसी घर भई हाल अष्ट्रेलिया बस्दै आएका जोन घलेले मृगौला रोगीहरुलाई एकल आर्थिक सहयोग गरेका हुन् । घलेले वडाध्यक्ष राकेश गुरुङमार्फत सहयोग रकम पठाएका हुन् । आर्थिक सहयोग प्राप्त गर्नेमा मृगौला रोगीहरु अनुजा गुरुङ, रोजिना गुरुङ उषा गुरुङ (नाम परिवर्तित), जयराम गुरुङ, सूर्यलाल बि.क र सुनार गुरुङ रहेका छन् ।

बिरामी स्वयम उपस्थित हुन नसकेकाले परिवारका सदस्यलाई सहयोग हस्तान्तरण गरिएको वडाध्यक्ष राकेश गुरुङले बताए । शुक्रबार एक कार्यक्रम गरी उक्त सहयोग गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बिरामीको परिवारलाई हस्तान्तरण गरेका हुन् । ‘जयराम गुरुङको भने परिवारका सदस्य उपस्थित हुन सकेनन्, म आफै समय मिलाएर हस्पिटल नै पुगेर दिन्छु,’ उनले भने ।

साथै उनले भेडा चराउन जादाँ लडेर घाइते भएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका चन्द्र बहादुर गुरुङलाई पनि आर्थिक सहयोग पठाएका छन् । सातै जनालाई प्रतिव्यक्ति ५० हजारका दरले आर्थिक सहयोग गरिएको वडाध्यक्ष गुरुङले बताए ।
यस्तै घाँटु नाँच घरलाई ७० हजार सहयोग वितरण गरिएको उनले बताए । प्राप्त आर्थिक सहयोगबाट वडा स्थित कालरात्री मावि र प्रभात किरण माविमा तीन÷तीन लाखको अक्षय कोष समेत स्थापना गरिएको वडाध्यक्ष गुरुले जानकारी दिए । सबै गरी घलेले करिब ११ लाख आर्थिक सहयोग पठाएको उनले बताए ।

वडाध्यक्ष गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माआोवादी केन्द्रका गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख पुष्प राज जोशी र स्वास्थ्य शाखा प्रमुख अमृत बहादुर घलेले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्