| आइतवार, कार्तिक २२, २०८३

ढुंगेटारी खारखोला पुलको शिलान्यास

पालुङटार नगरपालिका ९ ढुंगेटारीमा निर्माण हुन लागेको मोटरेबल पुलको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी पालुङटार नगरपालिका ९ का वडाअध्यक्ष भेजराज पाण्डेले सो पुलको शिलान्यास गरेका हुन् । शिलान्यास लगत्तै श्रीगणेश र अमृत जेभी निर्माण सेवाले सो पुल निर्माणको काम धमाधम अघि बढाएको छ ।

२०८२ असोज २६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ती जेभी कम्पनीले पूर्वाधार विकास कार्यालय गोरखासंग गत वैशाख २७ गते कामको सम्झौता गरेको थियो । तर काम एकबर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए ।

२५ मिटर लामो, आठ मिटर फराकिलो सो पुल दुई करोड ७५ लाख ९० हजार रुपैयाँमा निर्माण गर्न सो जेभी कम्पनीले गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयसंग सम्झौता गरेको कार्यालय प्रमुख गणेश सुवेदीले जानकारी दिए ।
पुल निर्माणका लागि स्थानीय सडक पुल निर्माण कार्यक्रमअन्तर्गत स्थानीय सडक पुल सपोर्ट युनिट र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशनले प्राविधिक सहयोग गरिरहेको छ ।

दशकिलो बिर्दी सेरा सडकमा पर्ने सो पुल निर्माण भएपछि पालुङटार नगरपालिका वडा नं. ६, ९, १० का बासिन्दालाई लाभ हुनेछ भने गोरखा नगरपालिका १३ का केही क्षेत्रका बासिन्दाले लाभ लिने वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्