| आइतवार, कार्तिक २२, २०८३

बरु थोरै काम गरौँ, गुणस्तरीय गरौँ, आँखामा छारो नहालौँ

नजान्नु दोष होइन, जानेर पनि नअपनाउनुचाहिँ दोष हो । हाम्रो देशका नीति निर्माण तहमा रहेका जनप्रतिनिधि र कर्मचारीवृत्त देश विदेश भ्रमण पनि गरेका छन् । पढालेखा पनि छन् । तालिम, प्रशिक्षण, अभिमुखीकरण, कार्यशाला भनेर बारम्बार लिइरहेका पनि हुन्छन् । त्यसैले उनीहरुलाई दीगो विकासको अवधारणा नभएको होइन, छ तर दीगो विकास गर्ने बेलामा आँखा चिम्लिन्छन् ।

सडकको ट्रयाक खन्दा सुरुमै डबल लेनको खने कति राम्रो हुने थियो तर सुरुमा सिंगल लेनको सडक ट्रयाक खन्छन् । ग्राभेल गर्छन्, केहीबर्षपछि कालोपत्रे पनि गर्छन् अनि फेरि चौडा बढाउने भनेर कालोपत्रे पुर्छन् । राज्यको यत्तिका लगानी ब्यर्थ खेर फाल्छन् । बरु सुरुमै थोरै खन्ने तर, न्युत्तम डबल लेनको सडक निर्माण गरे कति राम्रो हुने थियो ।

अहिले ग्रामीण सडक सञ्जाल सुधार आयोजना–ए एफ आयोजना कार्यान्वय इकाई पोखराले गोरखाको अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु गरेको छ । एशियाली विकास वैँकसंग ३० करोड ६१ लाख ३५ हजार रुपैयाँ ऋण लिएर सरकारले उक्त सडक कालोपत्रे गर्न लागेको हो । तर सडक डबल बिटुमिन सर्फेस ड्रेसिङ(डिबिएसडी) प्रकारको कालोपत्रे गर्न लागेको छ । अहिले अस्फाल्ट, प्रिमिक्स जस्ता विधिको कालोपत्रे प्रचलनमा छ, तर डिबिएसडी कालोपत्रे गरेर आँखामा छारो हाल्ने काम सरकारले गर्दैछ ।

केहीसमय अघिसम्म ओटासिल किसिमको कालोपत्रे गरेर सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरेको थियो । सर्वत्र आलोचना भएपछि ओटासिल किसिमको कालोपत्रे अहिले हुदैन । अँबुवा, बिर्दी, सेरा, पौवाटार सडक भुक्तानी भइनसक्दै उप्किने किसिमको डिबिएसडी कालोपत्रे गरिँदैछ । यसले स्थानीयबासीलाई हात्ती आयो हात्ती आयो फुस्सा बनाउनेछ ।
त्यसैले विकास निर्माणको काम गर्दा बरु थोरै गरौँ, गुणस्तरीय गरौँ, जनताको आँखामा छारो हाल्ने काम गर्नुहुदैन ।

प्रतिक्रिया दिनुहोस्