
मनास्लु रुटलाई प्राथमिकतामा राखेर फोरजी सेवा बिस्तार हुँदै
राम्रोसंग मोबाइल पनि नचल्ने उत्तरी गोरखाको ल्हो र सामागाउँ, साम्दोमा फोरजी सेवा विस्तार हुने भएको छ । गण्डकी प्रदेशकै सबैभन्दा बिकट भनेर चिनिएको मनास्लु ट्रेकिङ रुट अन्तर्गतका गाउँबस्तीलाई प्राथमिकतामा राखेर फोरजी सेवा विस्तार गर्न सुरु गरिएको नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।
चुमनुब्री ३, ४, ५ र ७ मा नेपाल टेलिकमको मोबाइल विभागले यसअघि नै फोरजी सेवा सञ्चालन गरेको छ । वडा नं. १ को सामागाउँ, साम्दो र वडा नं २ को ल्हो क्षेत्रमा पहिलो पटक सेवा विस्तार हुन लागेको प्रदेश कार्यालयले जनाएको छ । ‘गण्डकी प्रदेशको अल्लि बढि बिकट भनेको यही रुट हो । यो रुटको केही ठाउँमा अहिले पनि भिस्याटले काम चलाइएको छ । अब सबै ठाउँमा उच्च क्षमताको फोरजी सेवा सञ्चालन गरेर भिस्याटमुक्त गर्ने हाम्रो लक्ष्य हो’, नेपाल टेलिकमका गण्डकी प्रदेश निर्देशनालयका सूचना अधिकारी प्रक्षेत थापा भन्छन्, ‘चुमनुब्री लाइनको मेनहब केरौँजा हो ।
केरौंजा टावरमा विद्युत डिस्टर्ब हुँदा पनि सेवा अवरुद्ध हुन नदिन केही दिनभित्रै सोलार प्रविधि जडान गर्दैछौँ । त्यसपछि हामीले सामागाउँ र साम्दोसम्म पु¥याउने गरी स्योको डाँडामा टावर राख्नेछौँ । त्यसले सामागाउँ र साम्दोमा लिङ्कअप गर्नेछ । टावर नभएको साम्दोमा पनि टावर राख्नेछौँ । त्यसपछि भिमथाङ, थोँचेमा पनि टावर राख्नेछौँ । यी सबै ठाउँमा एकैचोटी टावर राख्न काम सुरु गरिएको छ ।’ चुम उपत्यकाका कतिपय ठाउँमा फोरजी सेवा नचलेकाले चुम्चेत पनि टावर राख्ने लक्ष्य रहेको उनले बताए । छुले र निलेमा सेवा भने अर्को चरणमा काम सुरु हुने थापाले बताए ।
मनास्लु ट्रेकिङ रुटलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको नेपाल टेलिकम पोखराका टेक्निकल इञ्चार्ज विकासराज तिमिल्सिनाले बताए । ‘टु जी’ सेवा मात्र संचालन हुने क्षेत्रहरुमा ‘फोर जी’ सेवा बिस्तारका लागि केन्द्रबाट नै काम सुरु भएको छ । सामागाउँ, साम्दो, ल्हो, ल्ही, स्योमा सेवा दिने गरी फोरजीको टावर निर्माण कार्य सुरु भएको छ’ उनले भने, ‘सर्वेक्षणको काम सम्पन्न भईसक्यो । छिट्टै पोल र टावर निर्माणको काम हुन्छ ।’
यसअघि सो वडावासीले विभिन्न सेवा प्रदायक कम्पनीहरुको ईन्टरनेट प्रयोग गर्दै आएका थिए । तर सबै क्षेत्रलाई समेटन नसकेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘पालिकाको केन्द्र लगायतका केही स्थानहरुमा विभिन्न इन्टरनेट प्रदायक कम्पनीहरुको ईन्टरनेट सेवा त पुगेको छ तर, त्यसले सबै क्षेत्रहरुलाई समेट्न सकेको छैन’, उनले भने, ‘नेपाल टेलिकमको अहिले टु जी मात्र छ, अव फोर जी सेवा संचालन भएपछि समस्या हुदैन ।’
चुमभ्याली अन्तर्गतका कतिपय क्षेत्रहरुमा फोरजी सेवा नभएकाले बिस्तारका लागि आवश्यक पहल गर्ने उनले जानकारी दिए ।
यता गोरखा नेपाल टेलिकमको नमुना जिल्ला छनोट भएको छ । गण्डकी प्रदेश अन्तरगत कास्की र गोरखा टेलिकमको नमुना जिल्ला छनोट भएको नेपाल टेलिकम गोरखा शाखा प्रमुख सरोज अर्यालले बताए । ‘नमुना जिल्ला अन्तरगत छनोट भएका छौँ,’ उनले भने, ‘यो हुँदा जिल्लामा केन्द्रबाट टेलिकम सेवा बिस्तारका लागि धेरै बजेट बिनियोजन हुन्छ ।’ जिल्लाको सबै क्षेत्रमा टेलिकम सेवा बिस्तार गर्ने लक्ष्य समेत रहेको उनले जानकारी दिए ।




