
बेलडाँडामा दक्षिणकाली मन्दिर निर्माण, प्राण प्रतिष्ठा गरेर पुजाआजा शुरु
गोरखा नगरपालिका–७ बेलडाँडा स्थित मन्सरेमा दक्षिणकाली मन्दिर निर्माण भएको छ । करिव ३५ लाखको लागतमा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माणका लागी स्थानीय तहबाट १८ लाख रकम विनियोजन भएको र बाँकी चन्दा संकलन गरिएको स्थानीय सुमन ज्ञवालीले बताए ।
चैत्र शुक्ल अष्टमीको दिन पारेर मंगलवार बिहान मन्दिरमा दक्षिणकाली देवीको प्रतिमूर्तीको अनावरण गरिएको उनले जानकारी दिए । प्राण प्रतिष्ठा र हवन समेत गरिएको उनको भनाइ छ । उनका अनुसार धिमे बाजा सहित स्वस्तिक यात्रा गरेर मन्दिरको प्राण प्रतिष्ठा गरिएको थियो । टोल बिकास संस्थाको पहलमा २०७७ सालदेखी मन्दिर निर्माणको काम सुरु भएको थियो । मन्दिर निर्माणका लागी २०७७ सालमा गोरखा नगरपालिका र वडा नं ७ को कार्यलयबाट ५/५ लाख रकम विनियोजन भएको थियो ।
२०७८ सालमा गोरखा नगरपालिकाले थप ८ लाख रकम विनियोजन ग¥यो । मन्दिरसँगै शौचालय र धर्मशाला पनि निर्माण गरिएको ज्ञवालीले बताए । ‘खानेपानीको लागी धारा पनि निर्माण भईरहेको छ’, उनले भने, ‘गेट र कम्पाउन्डिङको काम गर्न बाँकी छ, त्यसको लागी रकम संकलन गर्छाै ।’ प्राण प्रतिष्ठा सम्पन्न भएसँगै मन्दिरमा अवदेखि नियमित पुजा हुने बताइएको छ । मन्दिरमा दक्षिणकाली देवीसँगै गणेश र भैरवको मूर्ति पनि स्थापना गरिएकाले सबै प्रकारको बली समेत चल्ने ज्ञवालीले जानकारी दिए ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागी मन्दिर निर्माण गरिएको उनले बताए । ‘हाम्रो मुख्य उदेश्य यहाँ धार्मिक पर्यटक बढाउनु हो । गोरखा दरबार र पश्चिमकालीपछि दक्षिणकाली पनि पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, ४ का अध्यक्ष लालप्रसाद भट्टराई, चन्दादाता, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।




