
घरेलु उद्योग सञ्चालन गरौँ
बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुती कपडा उद्योग पुनः सुचारु हुने भएको छ । गोरखा नगरपालिका–११(तेह्रकिलो बजार)मा रहेको सो उद्योग नयाँ व्यवस्थापनसहित पुनः संचालन गर्न लागिएको हो । यहाँबाट यसअघि पनि स्वदेशी कपडाको साडी, पछ्यौरी, झोला, टोपीको बिक्री वितरण बढी हुन्थ्यो ।
आदिवासी जनजाति समुदायले ओड्ने पछ्यौरा र कपडाहरु पनि उत्तिकै लोकप्रिय थियो । सो उद्योग पुनसंचालनका लागि गोरखा नगरपालिकाले दुई लाख रुपैयाँ बराबरको भौतिक सामग्री उपलब्ध गराउने भएको छ । बन्द भएको उद्योग चलाउन नगरपालिकाको सहयोगले ठुलै राहत मिल्छ ।
२०३९ सालमा स्थापना भएर संचालनमा आएको उक्त उद्योग २०७८ सालबाट बन्द भएको थियो । कोरोना महामारीका कारण उद्योग बन्द गर्नुपर्ने बाध्यता भएको तर त्यसपछि पुनसंचालन हुन सकेको थिएन । यहाँको उत्पादन देशैभर प्रख्यात छ । यहाँको उत्पादन ७७ वटै जिल्लामा बिक्री हुन्थ्यो, तर बिभिन्न कारणले उद्योग बन्द गर्नुपर्ने अवस्था सृजना भयो ।
विशेषगरी गुरुङ र मगरहरुले लगाउने भाङ्ग्रा, ढाकाको कपडा र पछ्यौरीहरु बढी उत्पादन हुन्थ्यो । पोखरादेखिका उद्योगहरु सो उद्योगमा कपडा प्रशोधन गर्ने आउथेँ । उक्त उद्योगले धेरै महिलाहरुलाई रोजगारको अवसर दिलाएको थियो । ताप्ले, मनकामना लगायतका क्षेत्रका महिलाहरुलाई घरमै तान उपलब्ध गराएर रोजगार समेत दिएको थियो । उनीहरुले घरमा बसेर बुनेको कपडा उद्योगले खरिद गर्दथ्यो ।
उद्योगमा करिव ८० जनाले रोजगार पाएका थिए । दुई बर्षको अन्तरालपछि उद्योग पुनःसंचालन गर्न पाउँदा उनी खुशी र उत्साहित देखिन्छन् । नयाँ ढंगबाट उद्योग संचालन गर्ने उद्योगको योजना छ । उद्योग संचालनमा आएपछि स्वदेशी उत्पादनले बजार पाउने र रोजगारको अवसर समेत सृजना हुने अपेक्षा छ ।




