
सुपर त्रिशुली आयोजना यथासीघ्र निर्माण होओस्
गोरखा र चितवनको सीमाना भएर बग्ने त्रिशुली नदीमा सुपर त्रिशुली जलविद्युत आयोजना बन्ने भएको छ । १९ अर्ब लागतमा एकसय मेगावाट क्षमताको सुपर त्रिशुली निर्माण हुन थालेको छ । चारबर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको हो । निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न हुनेछ भन्ने अपेक्षा छ ।
नेपालमा निर्धारित समयमा काम सम्पन्न हुन सहज छैन । कैयौँ काम थालेर अलपत्र पारिएको छ, कैयौँ काम दोब्बर समय बितिसक्दा ५० प्रतिशत पनि नबनेका उदाहरण छन् । कैयौँ काम छाडेर ठेकेदार सम्पर्कबिहिन भएका छन् । कार्यालयले फलोअप गर्दागर्दै आजित भएको अबस्था छ ।
बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने भनिएको समयसीमाभित्र जग पनि खनिएन । भाषणका भरमा राजनीति गर्ने नेपालका नेताहरुले बूढीगण्डकी जलविद्युत आयोजना आठबर्षभित्र निर्माण सम्पन्न गर्ने भनी ढोङ पिटेका थिए । तर निर्माण सम्पन्न गर्ने भनेको पनि अहिले दुई बर्ष बितिसकेको छ । तर आयोजनाको जग खन्नु त परको कुरा, सम्पर्क कार्यालयमात्र उद्घाटन भएर बसेको छ ।
निर्धारित समयमा काम नभएका यस्ता कैयौँ उदाहरण छन् । तर सुपर त्रिशुली आयोजनाका सन्दर्भमा यस्ता नकारात्मक प्रभाव उत्पन्न गर्ने कुरा बिर्सेर धमाधम काम अघि बढिरहोस् । निर्धारित समयमा सुपर त्रिशुली जलविद्युत आयोजना निर्माण सम्पन्न होओस् । बाह्रै महिना नेपाललाई पुग्ने गरी विद्युत उत्पादन गर्न सक्ने क्षमताको आयोजना निर्माण होओस् । यसले नेपाललाई पूर्वाधार मात्र नभै आर्थिक संवृद्धितिर लैजानेछ ।
यहाँ त हरेक काममा वाञ्छित, अवाञ्चित सबै खालका बाधा व्यवधानको सामना गर्नुपर्छ । विकास बिरोधीहरु आयोजना स्थलमा बबण्डर मच्चाउन पनि पुग्ने गर्छन् । कतिपय काममा निर्माण व्यवसायीले काम सकिसकेको हुन्छ । तर सरकारसंग भुक्तानी गर्ने रकम अभाव भइरहेकाले पनि काम अलपत्र भएको अबस्था छ । यी र यस्ता विभिन्न प्रकृतिका उदाहरणले नेपाली जनमनमा नैराश्य भाव पैदा भएको छ । तर सुपर त्रिशुली जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न होओ् ।




