| आइतवार, कार्तिक २२, २०८३

११ महिनामा विमानस्थलबाट समातियो ५८६ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गत आर्थिक वर्षको ११ महिनामा मात्रै ५ सय ८६ किलो २ सय ग्राम सुन नियन्त्रणमा लिइएको पाइएको छ । विभिन्न देशबाट आयात गरी भन्सार तिराइएका, बरामद गरिएका, मुद्दा चलाइएका र अनुसन्धानको क्रममा रहेका सबै सुनको तौल गर्दा ५ सय ८६ किलोभन्दा बढी भएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख उपसचिव नारद गौतमले नियन्त्रणमा आएको ५८६ किलो सुनमध्ये करिब ३८ किलो सुन मुद्दा र जफत प्रक्रियामा रहेको बताए ।

कार्यालयका अनुसार विमानस्थल भन्सारले गत आर्थिक वर्षको साउन १ गतेदेखि जेठ महिनाको अन्तिमसम्ममा भरियामार्फत ल्याएको र मात्राभन्दा बढी ल्याएको ५४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ । निमित्त कार्यालय प्रमुख गौतमका अनुसार कुल ५४१ किलोग्राम सुन नियन्त्रणमा लिएकामा कानुन बमोजिम ल्याउन पाउनेको हकमा राजश्व तिराउँदा ५३ करोड ८० लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

गौतमका अनुसार मुख्यतः दुबई, कतार लगायतका देशबाट आउने व्यक्तिहरूले काम गरेर फर्किदा ल्याउने भन्सार छुट हुने बाहेकका सुन ल्याउँदा नियमानुसार लाग्ने राजश्व लिई उक्त परिमाणको सुन जाँचपास गरिएको हो । कतिपयले भरिया बनाएर पनि सुनको तस्करी गरेको भए पनि त्यसको पूर्ण पुष्टि हुन नसक्ने भएकाले कहिलेकाहिँ त्यस्तो सुन पनि राजश्व लिएर छाडिएको हुनसक्ने गौतमले बताए ।

गौतमले रातोपाटीसँग भने, ‘मानौँ दुबईमा २ वर्ष काम गरेर आएको छ भने उसले नियमानुसार ल्याउन पाउने सुनमा भन्सार छुट हुन्छ । नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा गई ५ महिनाभन्दा बढी समय काम गरेर फर्किएका पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार छुट पाइन्छ । त्यस्तै महिला हो भने ५० ग्रामसम्मको सुनका गहना ल्याउँदा भन्सार छुट हुन्छ ।’

तर सुनको गहना भनेपनि रसायन नमिसाएको बेरुवा औँठी, बाला, सिक्री जस्ता गहनाका आकार दिइएका सुनका गहनाहरूमा भने भन्सार छुट नदिने व्यवस्था रहेको छ ।

त्यसैगरी विदेशमा काम गरी फर्किएका वा आम्दानीको श्रोत देखाएर खरिद गरी ल्याइएका ५० ग्रामसम्मको सुनलाई १५ प्रतिशत भन्सार महसुल तिरेर ल्याउन सकिने छ । ५० ग्रामभन्दा बढी एकसय ग्रामसम्म सुन ल्याउनेलाई थप ३ प्रतिशत अर्थात् १८ प्रतिशत महसुल लिएर भन्सार छुटाउन सकिने व्यवस्था छ । १ सय ग्रामभन्दा बढी सुन ल्याएको अवस्थामा भने उक्त सुन जफत हुने कानुनी व्यवस्था छ ।

यही कानुनको आधारमा एक सय ग्रामसम्म सुन ल्याउने व्यक्तिहरूबाट विमानस्थल भन्सार कार्यालयले ११ महिनाको अवधिमा ५३ करोड ८० लाख रुपैयाँ राजश्व सङ्कलन गरेको विमानस्थल भन्सार कार्यालयको भनाइ छ । पहिले सुन ल्याउँदा भन्सार महसुल १० प्रतिशत रहेकामा अहिले १५ प्रतिशत बनाइएको छ । source:ratopati

प्रतिक्रिया दिनुहोस्