| सोमवार, कार्तिक २३, २०८३

आधुनिक तरिकाले तरकारी खेती सिक्दै गोनपा १४ का महिलाहरु

गोरखा नगरपालिका वडा नम्बर १४ का महिलाहरुले आधुनिक र अर्गानिक तरकारी खेती गर्ने सिप सिकेका छन् । गोप्पेश्वर आईपिएम कृषक पाठशालामार्फत समुहमा आवद्ध २५ जना महिलाहरुले उक्त तालिम लिएका हुन् ।


तालिमअन्र्तगत महिलाहरुलाई १६ हप्तासम्म तरकारीको बिउ कसरी राख्ने, हुर्काउने, जोगाउने, विषादीरहित कसरी बनाउने, रोग किराबाट जोगाउन के गर्ने ? बिषादी प्रयोग गर्नुपर्दा कसरी गर्ने भन्ने बारेमा सिकाइएको सहजकर्ता कल्पना धितालले बताइन् ।


समुहकी अध्यक्ष संगीता भण्डारीको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामबहादुर खड्का, कृषि अधिकृत पुष्पराज खनाललगायतले धारणा राखेका थिए ।


सहभागी किसानले कृषि उत्पादन कसरी बढाउने, विषादी प्रयोगमा निरुत्साहित गर्ने खालका गित, नाटक समेत प्रस्तुत गरेका थिए । बाली संरक्षण प्रयोगशाला बिरौटा कास्कीको आर्थिक सहयोगमा गोनपा १४ उक्त तालिम संचालन भएको हो । तालिम अवधीमा किसानहरुले सामुहिक खेती गरेका थिए । यसबाट उनीहरुको ब्यवशायिक खेतीतर्फ आकर्षण बढ्ने बताउँदै नगरप्रमुख पन्तले भने ‘बिषादी प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक उत्पादन र किसानको स्वास्थ्यसंग पनि यो सम्बन्धित छ ।’

नगरपालिकाको उक्त वडा खेती किसानीका लागि उपयुक्त रहेकाले ब्यवस्थित रुपमा बिकास गर्ने योजना अनुसार नगरपालिकाको कृषि कार्यक्रममा पनि प्राथमिकतामा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्