
जौबारीको नवआदर्श महिला सहकारी संस्थाको भवन निर्माण गर्न ५० हजार रुपैयाँ प्रदान
गण्डकी प्रदेशका सांसद तथा नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य प्रकाशचन्द्र दवाडीले गोरखा जौबारीको नवआदर्श महिला बचत तथा ऋण सहकारी संस्थालाई ५० हजार रुपैयाँ सहयोगस्वरुप प्रदान गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने क्रममा सिरानचोक गाउँपालिका ८ जौबारी पुगेका सांसद दवाडीले सो सहकारी संस्थालाई सहयोग रकम प्रदान गरेका हुन् ।
निर्माणाधीन सहकारी संस्थाको कार्यालय भवनलाई थप टेवा पुगोस् भनेर सहकारी संस्थाकी अध्यक्ष विष्णुमाया ढकाललाई सोमबार बिहान रकम हस्तान्तरण गरेको सहकारी संस्थाकी सामाजिक परिचालक शिला दवाडीले जानकारी दिइन् । रकम ग्रहण गर्दै अध्यक्ष ढकालले सांसद दवाडीको सहयोगप्रति कृतज्ञता प्रकट गरेकी थिइन् ।
गाउँमा सुखदुखमा सहकार्य गर्दै आएको सहकारी संस्थाको उत्तरोत्तर प्रगतिका लागि तथा महिलाहरुको उत्साहलाई होस्टेमा हैँसे गर्न सहयोग गरेको सांसद दवाडीले बताए ।
सोही क्रममा सांसद दवाडीले परोपकार आदर्श मावि र जौबारी प्राथमिक स्वास्थ्य केन्द्र जौबारीको अवलोकन भ्रमण गरेका छन् ।




