
नेपाल एकीकरणका ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार स्थापना
नेपाल एकीकरणका ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार राशी स्थापना गरिएको छ । तत्कालीन समयमा राज्य एकीकरण अभियानका अभियन्ता, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकार विसे नगर्चीको योगदानलाई सम्मान गर्न पुरस्कार राशी स्थापना गरिएको झापामा स्थापना भएको गोरखा फाउण्डेसनले जनाएको छ ।
ऐतिहासिक पात्र नगर्चीको नाममा अक्षयकोष निर्माण गरी आगामी पुस महिनादेखि पुरस्कार वितरण गर्ने फाउन्डेशनका संस्थापक वीरबहादुर दर्नाल (बिरु) ले जानकारी दिए ।
उक्त पुरस्कार वितरण गर्नका लागि अलग्गै मापदण्ड सहितको कार्यविधि निर्माण गरिने र छनोट समिति गठन गरी पुरस्कृत प्रतिभा छनौट गरिने उनले जानकारी दिए ।
देश तथा विदेशमा रहेर विभिन्न विधामा योगदान पु¥याएका नेपालीलाई उक्त पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ । पुरस्कृत प्रतिभालाई नगद पुरस्कारसहित विशे नगर्चीको चित्र अंकित तक्मा प्रदान गर्ने योजना रहेको फाउन्डेशनका संस्थापक दर्नालले जानकारी दिए । उनका अनुसार भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायतका नेपाली भाषी दलित समुदायलाई समेत उक्त सम्मान प्रदान गर्न सकिनेछ ।
गोरखा फाउन्डेशन मुख्य आयोजक र झापाका १५ वटै पालिकाहरु सह आयोजक रहने बताउँदै उनले दुईवर्ष अघि नै कार्यक्रम आयोजना गरिने तय भए पनि कोभिडका कारण अहिलेसम्म सुरु गर्न ढिलाइ भएको बताए ।
झापाको गौरव राख्न सक्ने राट्रियस्तरको कार्यक्रम र ऐतिहासिक पात्र बिसे नगर्चीको नामबाट कार्यक्रम गरिने भएकाले सबै क्षेत्र, सामािजक संघसंस्था एवम नागरिक समाजलाई अपनत्व हुने गरी सबैको साझा कार्यक्रमको रुपमा थालनी गरिएको फाउन्डेशनका महासचिव रञ्चित परियारले बताए ।
त्यस्तै, ऐतिहासिक पात्र बिसे नगर्चीका बारेमा स्थलगत अध्ययनका लागि झापाली पत्रकारहरुको टोली बुधबार गोरखा सदरमुकाममा आई गोरखा दरबार, बिसे नगर्चीको शालिक लगातका ठाउँको समेत अवलोकन गरेका छन् ।




