| सोमवार, कार्तिक २३, २०८३

गोरखामा नयाँ नोट आइपुगेन

हिन्दू नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै छ । यस चाडमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नेपाल राष्ट्र बैंकले नोट वितरणको व्यवस्था मिलाउने गर्छ ।


नेपाल राष्ट्र वैँकले तोकेका विभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर गोरखाका वाणिज्य वैँकहरुमा भने नयाँ नोट नआइपुगेको राष्ट्रिय वाणिज्य वैँक शाखा कार्यालय गोरखाले जनाएको छ ।


नयाँ नोट आउने प्रक्रियामा रहेको राष्ट्रिय वाणिज्य बैँकका सूचना अधिकारी सुजन क्यापछाकी मगरले बताए । ‘पहिले नै आउनु पर्नेे ५० करोडको कोष निकासा भएको छैन ।

त्यो निकासा भएपछि थप अरु माग गर्दा सोसँगै नयाँ नोेटहरु आउँला भन्ने विश्वास लिएका छौँ’, उनले भने, ‘सामाजिक सुुरक्षा भत्ता, पेन्सन तथा तलबहरु भर्खर–भर्खर दिन सुरु गरिएको छ । अबको १ हप्ताभित्र निकासा भयो भने माग गरिएको रकमसँगै नयाँ नोट पनि आइपुग्छ ।’
दुईचार दिनभित्र नयाँ नोट वितरणको लागि प्रक्रिया अघि बढाउने रावा वैँक, शाखा कार्यालय गोरखाका प्रमुख कपिल कार्कीले बताए ।

‘व्यापारीहरुले धेरै खुद्रा गरेर लान्छन् । हामी आफैले पनि बैङ्किङ काममा चलाउनुपर्ने भएकोले हाल सटही गर्ने मुद्रा अभाव छ’, उनले भने, ‘नेपाल राष्ट्र बैँकले कति पठाउछ, ? त्यो पर्याप्त हुन्छ कि हुदैन भन्ने कुरा प्राप्त भएपछि मात्र थाहा हुन्छ ।

हामी आफै गएर भने पनि ल्याउने विचार गरिरहेका छौँ । चाँडै भन्दा चाँडै नयाँ नोटको व्यवस्था गर्न पहल गरिरहेका छाँै’, प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्