| सोमवार, कार्तिक २३, २०८३

बिपन्न १४ घर परिवारलाई असल छिमेकीद्वारा घर निर्माण सामग्री सहयोग


असल छिमेकी नेपालले बिपन्न १४ घर परिवारलाई दुई लाख रुपैयाँ भन्दाबढिको घर निर्माण सामग्री सहयोग गरेको छ ।

गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र बन्दिपुर गाउँपालिकामा उक्त सामग्री बितरण गरिएको असल छिमेकी नेपालका बरिष्ठ योजना अनुगमन तथा मूल्याङ्कन अधिकृत दिनेश केसीले बताए ।

बाढी पहिरोका कारण आफ्नो बासस्थान गुमाएकाहरुलाई असल छिमेकी नेपालले सहयोग गरेको जनाएको छ ।

सिरानचोक गाउँपालिका ७ मा पहिरोबाट प्रभावित तीन घरधुरीलाई प्रतिघर २४ थान रङ्गीन जस्तापाता, तीन किलो काँटी, दुई पाता प्लेनपत्ता बितरण गरिएको उनले बताए । वडा प्रतिनिधि कुमार गुरुङको उपस्थितिमा राहत बितरण गरिएको हो ।

गोरखा नगरपालिका वडा नम्बर ९ मा पूर्णबहादुर सिर्मलको घर पुननिर्माण गर्न ३२ थान जस्तापाता, चार किलो काँटी र दुई थान प्लेनपत्ता सहयोग गरिएको बरिष्ठ योजना अनुगमन तथा मूल्याङ्कन अधिकृत केसीले बताए । वडा अध्यक्ष कुलबहादुर कुँवरको उपस्थितिमा राहत बितरण गरिएको असल छिमेकी नेपालले जनाएको छ ।

बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष, प्रतिनिधिहरुको उपस्थितिमा वडा नम्बर १ र ३ का १० घर चेपाङ परिवारलाई जस्तापाता, काँटी र प्लेनपत्ता सहयोग गरिएको अधिकृत केसीले जानकारी दिए । स्थानीय तहसँगको समन्वयमा असल छिमेकीले उक्त सामग्री बितरण गरेको जनाएको छ ।


भुकम्पपछिको पुन निर्माण, कोरोना उपचार, रोकथाम र नियन्त्रण सँगै बिपत्तिका समयमा पनि असल छिमेकी नेपालले स्थानीय तहसँगको सक्रियतामा बिभिन्न खालका कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्