
गोरखा समाज हङकङद्धारा सल्लेरी जगत बाढीपिडितलाई इन्डक्शन चुलो वितरण
हङकङमा बस्ने गोरखालीहरुको संस्था गोरखा समाज हङकङले गोरखा चुमनुब्री गाउँपालिका—३ सल्लेरी, जगतका बुढीगण्डकी बाढीपिडित तथा प्रभावित परिवारलाई बिद्युतीय चुल्हो उपलब्ध गराएका छन् । चुमनुब्री मिलन समाज काठमान्डौको अनुरोधमा गोरखा समाज हङकङले ५० थान विद्युतीय चुल्हो सहयोग उपलब्ध गराएको हो ।
गत आषाढ १ गतेको भिषण बाढीले सल्लेरीको ६ घर बगाएको थियो भने सल्लेरीको थप २० घर तथा जगतको ५ घरधुरी विस्थापित भएका थिए । सो बाढीबाट ५० घरधुरी प्रभावित बनेका छन् । बाढीका कारण त्रिपालमा आश्रय लिई रहेका विस्थापितहरुलाई चिसो दाउरामा खाना पकाउन सास्ती हुँदा सुत्केरी, वृध्दवृध्दा अशक्त र विरामीहरुको दैनिकी कष्टकर भएको खबर सुनेपछि गोरखाली हुनुको भावनात्मक नाताले अति दुःख लागेको र हाम्रो समाजले पनि जिल्लावासी दाजुभाई दिदीबहिनीहरुलाई परेको विपत्तिमा केही सहयोग गर्नु पर्छ भन्ने मनसायले समाजका साथीहरुसँग सरसल्लाह गरी दुई लाख रुपैयाँ बराबारको चुल्हो सहयोग उपलब्ध गराएको समाजका अध्यक्ष सिरानचोकका दिलबहादुर गुरुङ्गले बताए ।
बाढी पहिरोका कारण उत्तरी गोरखा आवतजावत गर्ने मुल बाटो नै अवरुद्ध हुँदा अरुले चार्टर गरेको हेलिकप्टर मार्फत पटक पटक गरी हालसम्म ३३ थान पठाई वितरण गरिसकिएको छ । गाउँ पुगेको चुलोलाई चुमनुब्री गाउँकार्यपालिका सदस्य काजी घले(विशाल हिमाली)ले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए ।

बाँकी १७ थान इन्डक्शन चुलो यसरी नै मौका मिलाएर पठाउने तयारी भइरहेको समन्वयकर्ता संस्था चुमनुब्री मिलन समाज काठमाडौैका अध्यक्ष वीरबल घलेले बताए । हेलिकोप्टरबाट ढुवानीको अवसर नमिलेमा अवरुद्ध बाटो खुलेपछि पैदलमार्गबाट पठाउने गरी चुमनुब्रीमिलन समाजसँग कुरा भईरहेको गोरखा समाज हङकङका महासचिव रोबिन गुरुङ्गले बताए । विदेशी भूमिमा रहेर पनि आफ्नो माटोका दाजुभाईको दुख र विपदमा उल्लेखनीय सहयोग गरेकोमा चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ्गले गोरखा समाज हङकङप्रति हार्दिक धन्यवाद दिएका छन् ।




