
गण्डकी प्रदेशको २५ प्रतिशत रकम खर्च हुन सकेन
लमजङमा गत आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारबाट स्थानीय तहसहित सरकारी कार्यालयका लागि आएको बजेटमध्ये ८३ प्रतिशत रकम खर्च भएको छ । लमजुङ जिल्लाका लागि आर्थिक वर्ष ०७७/७८ मा संघ र प्रदेश सरकारले विनियोजनन गरेको रकममध्ये १७ प्रतिशत रकम खर्च हुन नसकेको हो ।
कोष तथा नियन्त्रक कार्यालय लमजुङका अनुसार चालूतर्फ ८६ प्रतिशत र पुँजीगततर्फ ७७ प्रतिशत रकम खर्च भएको हो ।
गत आर्थिक वर्षको कुल बजेट नौ अर्ब १६ करोड ४५ लाखमध्ये सात अर्ब ५७ करोड ७० लाख सात हजार रुपैयाँ खर्च भएको छ ।
संघ सरकारले विनियोजन गरेको बजेटमध्ये ८४ दशमलव ५३ प्रतिशत र प्रदेश सरकारको ७६ दशमलव ५२ प्रतिशत रकम खर्च भएको हो । गत आर्थिक वर्षमा संघ सरकारले सात अर्ब चार करोड, ४२ लाख १२ हजार रुपैयाँ विनियोजन गरेकोमा पाँच अर्ब ९५ करोड ४६ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
संघ सरकारको मात्रै झण्डै १५ प्रतिशत रकम खर्च हुन नसकेको कोलेनिका प्रमुख भगवानप्रसाद उप्रेतीले बताए ।
यस्तै प्रदेश सरकारले विनियोजन गरेको दुई अर्ब १२ करोड दुई लाख ८८ हजारमध्ये एक अर्ब ६२ करोड २३ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारअन्तर्गत भण्डै २३ प्रतिशत रकम खर्च हुन नसकेको कार्यालय प्रमुख उप्रेतीको भनाइ छ । कोलेनिकाका अनुसार संघीय सरकारबाट प्राप्त कुल बजेटमध्ये ८४ दशमलव ५३ प्रतिशत खर्च भएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त कुल बजेटमध्ये ५६ दशमलव २७ प्रतिशत रकम खर्च भएको कार्यालय प्रमुख उप्रेतीले बताए ।
गत आर्थिक वर्षमा जिल्लामा चालूतर्फ संघ र प्रदेश सरकारले पाँच अर्ब ९१ करोड ८३ लाख ८५ हजार रुपैयाँ पठाएको थियो । सोमध्ये पाँच अर्ब आठ करोड ५४ लाख ६५ हजार रुपैयाँ अर्थात् ८६ प्रतिशत खर्च भएको छ ।
यसैगरी पुँजीगततर्फ प्राप्त तीन अर्ब २४ करोड ६१ लाख १५ हजार पठाएकोमा दुई अर्ब ४९ करोड १५ लाख ४२ हजार रुपैयाँ अर्थात् ७७ प्रतिशत खर्च भएको कोलेनिकाले जनाएको छ । गत आर्थिक वर्षका लागि जिल्लामा संघीय सरकारले कोलेनिकामार्फत चालूतर्फ पाँच अर्ब ३६ करोड ६९ लाख २१ हजार रुपैयाँ बजेट आएको थियो । सोमध्ये चार अर्ब ६७ करोड ४१ लाख ४५ हजार रुपैयाँ अर्थात् ८७ दशमलव नौ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । यसैगरी पुँजीगततर्फ संघ सरकारबाट एक अर्ब ६७ करोड ७२ लाख ९१ हजार रुपैयाँ आएकोमा एक अर्ब २८ करोड पाँच लाख १८ हजार रुपैयाँ अर्थात् ७६ दशमलव ३४ प्रतिशत खर्च भएको छ ।
यसैगरी प्रदेश सरकारबाट कोलेनिकामार्फत जिल्लामा आएको ५५ करोड १४ लाख ६४ हजार रुपैयाँ चालू खर्चमध्ये ४१ करोड १३ लाख २० हजार रुपैयाँ अर्थात् ७४ दशमलव ५९ प्रतिशतमात्रै खर्च भएको छ ।
प्रदेश सरकारबाट आएको एक अर्ब ५६ करोड ८८ लाख २४ हजार पुँजीगत रकममध्ये एक अर्ब २१ करोड १० लाख २४ हजार रुपैयाँ अर्थात् ७७ दशमलव १९ प्रतिशतमात्रै खर्च भएको कार्यालयले जनाएको छ ।
कोलेनिका प्रमुख उप्रेतीकाअनुसार जिल्लामा गतवर्षका लागि आएको कुल बजेटमध्ये एक अर्ब ५८ करोड ७४ लाख ९३ हजार रुपैयाँ खर्च हुन नसकेको हो । खर्च हुन नसकेको रकममध्ये चालूतर्फ ८३ करोड २९ लाख २० हजार र पुँजीगततर्फ ७५ करोड ४५ लाख ७३ हजार रुपैयाँ रहेको छ । खर्च हुन नसकेको रकममध्ये एक अर्ब २३ करोड ९६ लाख ९९ हजार संघ सरकारबाट प्राप्त बजेट रहेको कोलेनिका लमजुङले जनाएको छ ।
जिल्लामा अघिल्लो वर्ष कुल बजेटको ७५ प्रतिशत रकममात्रै खर्च भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा चालूतर्फ ८८ प्रतिशत खर्च भएको थियो भने पुँजीगततर्फ ५५ प्रतिशत रकममात्रै खर्च हुन सकेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा पुँजीगत खर्चमात्रै २० प्रतिशतले वृद्धि भएको कोलेनिका लमजुङले जनाएको छ ।




