| सोमवार, कार्तिक २३, २०८३

तनहुँमा ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्रे

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो । विसं २०४९ जेठ २ गते ट्रयाक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताए ।  ‘त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग ग¥यौँ । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्र्याक खोलिएको थियो’, उनले भने ।  

 गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्र गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी र्दिए । ४० लाख ६० हजार ३४७ को लागतमा सडक कालोपत्र गरिएको छ ।  

शुक्लागण्डकी नगरपालिकाले १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत रु पाँच लाख बजेट उपलब्ध गराएका थिए । स्थानीयवासीले १८ लाख १० हजार ३४७ लागत साझेदारी गरेका छन् । वडाध्यक्ष क्षेत्रीका अनुसार ३०० मिटर सडक कालेपत्रसँगै छ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रलाई प्राथमिकता दिएको उनले बताए । कालोपत्र नहुँदासम्म यो सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।  

प्रतिक्रिया दिनुहोस्