| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

गोरखाको निजी आवास पुनर्निर्माणमा सहजिकरण गरिरहेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गोरखा र पालुङ्गटार तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट, सिरानचोक र शहिदलखनको ५० वटा वडामा सामाजिक प्राविधिक सहजिकरण मार्फत घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट तोकिएका २६ हजार नौ सय १२ घर निर्माण गरिने लक्ष्य रहेकोमा अहिले सम्म २६ हजार पाँच सय घर पुननिर्माण भईसकेका छन् ।

निजी आवास पुनर्निर्माण ९८ प्रतिशत सम्पन्न भएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले बताए ।
परियोजना मार्फत घर निर्माणस्थलमा गएर भूकम्प प्रभावित घरधनिलाई सामाजिक प्राविधिक सहजिकरण, अति विपन्न स्थिती भएका भूकम्प प्रभावित घर धनीलाई सहजिकरण, स्थानीय डकर्मीको क्षमता अभिवृद्धि तालिम, मौलिक तथा परम्परागत घरको जगेर्नाका लागि प्रवलीकरण, भूमिहिन भूकम्प प्रभावित घर धनी लगायत संकटासन्न घरधनीलाई मुख्य प्राथमिकता दिई कार्य अगाडी बढाइएको परियोजनाले जनाएको छ ।
भूकम्प प्रतिरोधी घर पुनर्निर्माण संगै सुरक्षित आवास निर्माणका लागि स्थानीय डकर्मीलाई निर्माण स्थलमै क्षमता अभिवृद्धिको तालिम समेत परियोजनाले दिएको छ । परियोजनाले आफ्नो कार्यक्षेत्र रहेको पालिकामा छ हजार आठ सय ४२ डकर्मीलाई १४ हजार नौ सय ४९ दिन सुरक्षित आवास निर्माणका लागि तालिम दिइएको छ ।

परियोजनाका जिल्ला इन्जिनियर दिवश दाहालका अनुसार ४६ वटा घर प्रवलीकरण गरी हरेक वडामा ५ दिनको तालिम सञ्चालनगरि तीन सय २० जना डकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।
नगरक्षेत्रमा नक्सापास अनिवार्य गराउनुपर्ने भएकाले गोरखा र पालुङ्गटार नगरपालिका परिसरमा रहेको नक्सापास स्टुडियोले भूकम्पप्रतिरोधी घर निर्माणका लागि मापदण्डमा रहेर निशुल्क नक्सा पास गर्न सहजिकरण गरेको स्ट्रक्चरल इन्जिनियर स्वर्णीम श्रेष्ठले बताए ।

हाल सम्म दुवै नगरपालिका मार्फत दुई हजार चार सय १६ नक्सा पास सम्पन्न भएका छन् ।
लामो समय देखि रोकि राखेका आर्थिक अवस्था कमजोर भएका अति विपन्न भूकम्प प्रभावित घरधनीका छाना छाउन नसकिएका ४१ घरमाछाना छाइ सकिएको परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्