| आइतवार, कार्तिक २२, २०८३

धुवाँकोट, च्याङ्ली र गाईखुरका किसानलाई हाते ट्रिलर वितरण


पालुङटार नगरपालिकाका बिभिन्न वडामा रहेको लिचि ब्लक क्षेत्रका किसानलाई हाते ट्रिलर वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ६, ७ र ८ का १७ जना किसानहरुलाई बुधबार हाते ट्रिलर वितरण गरिएको लिची ब्ललकका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए ।


वडा नं ६ का किसानलाई २ वटा हाते ट्रिलर, वडा नं. ७ मा ८ वटा र वडा नं. ८ मा ७ वटा हाते ट्रिलर बितरण गरिएको गुरूङले जानकारी दिए । उक्त ट्याक्टर किसानहरूलाइ ५० प्रतिशत अनुदानमा बितरण गरिएको गुरूङले बताए ।


उनका अनुसार किसानहरुलाई सात हर्षपावरका हाते ट्रिलर वितरण गरिएको हो । ७० हजार रुपैयाँ पर्ने उक्त हाते ट्रिलरहरू किसानहरूलाइ ३५ हजार रुपैयाँमा बितरण गरिएको उनले बताए ।


त्यस्तै गरी वडा नं ६ मा एउटा, वडा नं ७ मा ५ वटा र वडा नं ८ मा ५ वटा प्लाष्टिक पोखरी बितरण गरिने पनि अध्यक्ष गुरूङले बताए । प्लाष्टिक पोखरी भने लागतको ८५ प्रतिशत रकम अनुदानमा कृषकहरूलाई बितरण गरिने अध्यक्ष गुरुङले बताए ।


यस अघि नै कृषकहरूलाइ आवश्यक पर्ने डिजिटल काँटा, करौंती, सिकेचर लगायतका सामग्रीहरू बितरण गरिसकिएको छ । लिची ब्लक मानिने पालुङ्टार ६, ७ र ८ नंबर वडाबाट हरेक बर्ष करोडौं रुपैयाँ बराबरको लिची बिक्री हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्