
ठेकेदारले बनाएनन् पुल, खोलाखोलै गाडी
एक वर्ष अघि निर्माण सम्पन्न हुनुपर्ने लुदी खोला पुल ठेकेदारको लापर्वाहीले अझै बनेको छैन । पुल नबन्दा शहीदलखन, गण्डकी गाउँपालिकाका सर्व साधारण गोरखा सदरमुकाम आउन अहिले पनि खोलाखोलै यात्रा गर्न बाध्य छन् ।
‘मोटरसाईकलमा हिड्दा खोलामा डुब्छ, कति जना त लड्छन्’ गण्डकी गाउँपालिका २ का मदन पन्तले भने ‘बस पनि खोलाखोलै तर्छ, हिड्न पनि सकस भएको छ ।’ समान्य पानी पर्दा पनि बाढीले खोला ठुलो हुने डर र पुल नभएकै कारणले सर्वसाधारण यात्रा गर्दैनन् । गतवर्ष यात्रुले भोगेका नियति यो वर्ष पनि दोहोरिने हो कि भन्ने चिन्ता रहेको उनले बताए ।
उक्त पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले सिलान्यास गरेका थिए । सिलान्यासका क्रममा उनले निर्माण जिम्मा लिएका निलगिरी, अधिकारी जेभीका संचालक डालनाथ अधिकारीलाई समयमै पुल निर्माण सम्पन्न गरिसक्नेमा आफू आशाबादी भएको बताएका थिए । ‘दुई वर्ष समय छ तर अनुभवी निर्माण ब्यवशायी डालनाथ दाईले समयै अगाबै बनाइ सक्नुहुन्छ भन्नेमा म विश्वस्त छु’ मन्त्री बस्नेतले भनेका थिए ।
तर उनको आशा अझै पूरा भएको छैन । २०७६ असारमा सक्नुपर्ने पुल २०७७ फागुनसम्म बनेको छैन । ‘पुल निर्माणका लागि दुई पटक म्याद थप भयो तर अझै काम सकिएको छैन’ पुर्वाधार कार्यालयका इन्जिनियर गणेश सुबेदीले भने । उक्त पुलको करिब ८५ प्रतिशत काम मात्रै सकिएको उनले बताए । उक्त पुल निर्माण गर्न चार करोड छ लाखमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण ब्यवशायी अधिकारीले भने पुल निर्माणको गोरखा तर्फको भागमा जग्गाको मुआब्जा बिवादले केही समय काम रोकिँदा ढिला भएको बताएका छन् । काम धेरै बाँकी नभएकाले छिट्टै सक्ने उनले बताए ।
निलगिरी अधिकारी जेभीले जिम्मा लिएको पालुङटार नगरपालिकाको बडहरे खोला पुल र लगाम खोला पुल निर्माण अलपत्र छ । बडहरे खोलाको ७५ र लगाम खोलाको ९५ प्रतिशत काम भएको छ । यो दुबै पुल २०७५ असारमा सकिनुपथ्र्यो । ‘दुबै पुलको म्याद दुईपटक थपियो’ इन्जिनियर सुवेदीले भने ‘अब म्याद थप होईन हामीले जरिवाना लगाएर काम लगाउँछौँ ।
’ २०७७ असोज २९ गते अन्तिम पटक थपिएको म्याद सकिएपछि तीनवटै पुल निर्माण समय थपिएको छैन । बडहरे खोला पुल एक करोड १८ लाख र लगाम खोला पुलको एक करोड १० लाखमा ठेक्का लागेको थियो ।
इलाईट एड्भेन्चर धनथान जेभीले निर्माण जिम्मा लिएको गोरखा(पालुङटार जोड्ने दरौँदी नदी पुल अलपत्र छ । २०७३ साल असार २७ गते सम्झौता भएको उक्त पुलको ४५ प्रतिशत मात्रै काम भएको छ । २०७५ असारमा निर्माण गर्नुपर्ने उक्त पुल अहिलेसम्म आधाआधी पनि बनेको छैन । ‘निर्माणका क्रममा प्राविधिक कठिनाईले केही ढिला भयो’ पूर्वाधार कार्यालयका इन्जिनियर गणेश सुवेदीले भने । चार करोड छ लाख रुपैयाँमा उक्त पुल निर्माणको सम्झौता भएको थियो ।
गत जेठमा दोस्रो पटक थपिएको म्याद सकिएपछि तेस्रो पटक थपिएको छैन । ‘अझै म्याद थपिरहन संभव छैन, ठेक्का सम्झौता गर्दा अनुसार अब जरिवाना लगाउँछौँ’ उनले भने । पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई सम्झौता रकमको सुन्य दशमलव सुन्य पाँच प्रतिशत प्रतिदिन जरिवाना लगाउन सुरु गरिएको पूर्वाधार कार्यालयले जनाएको छ । काम नगर्ने, ढिलासुस्ती गर्नेबाट १० प्रतिशत सम्म कार्यालयले जरिवाना असुल्न सक्छ ।




