
महिलाहरुलाई सुरक्षित घर बनाउने तालिम
गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थित लप्सेमा ७ दिने सुरक्षित आवास निर्माणका सम्बन्धी महिला डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन इकाई भवन कार्यालयका प्रमुख सुनिता श्रेष्ठले सुरक्षित संरचना बनाउन दक्ष महिला डकर्मीले अग्रणी भूमिका खेल्न सक्ने बताईन् । यसअघि तालिमका क्रममा गोरखा नगरपालिकाकी उपमेयर विना श्रेष्ठ र जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारीले भविष्यमा गोरखा नगरपालिकाको विकास निर्माणका काममा महिला डकर्मीलाई सहभागी गराउने प्रतिबद्धता जनाएका थिए । तालिममा सहभागी महिला डकर्मी सिर्जना थापाले पुरुष सरह समान रुपमा भूकम्प प्रतिरोधी घर निर्माण सहभागी हुने सक्ने बताईन ।
तालिमका प्रशिक्षक सब इन्जिनियर उत्तम बानियाले सुरक्षित आवास निर्माण गर्न जग देखि छाना तह सम्म नै आवश्यक पर्ने प्राविधिक पक्ष बारे जानकारी गराएको बताए । तालिममा १० जना महिला सहभागी थिए ।




