
लामो समयदेखि अलपत्र लोकमार्गको बागलुङ खण्डले लियो गति
लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ महिनाभित्रै कालोपत्र गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । सम्पर्कमा आएका ठेकेदारले लिखित प्रतिबद्धता जनाएलगत्तै लोकमार्गको बागलुङ सदरमुकामबाट घोडाबाँधे खण्डले गति लिएको छ ।
लोकमार्गको बागलुङ बजारको उपल्लाचौरबाट अछेत बिहुँसम्मको १३ किलोमिटरमा १५० मिटर चट्टान कटिङको काम बाँकी रहेको थियो भने बिहुँबाट घोडाबाँधे खण्डको १२ किलोमिटर सडक कालोपत्र गर्नका लागि कच्चा पदार्थको अभावमा काम अगाडि बढ्न सकेको थिएन । अहिले दुवै खण्डमा निर्माणले तीव्रता पाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
अहिले बागलुङबाट अछेते बिहुँ खण्डमा पर्ने बागलुङ नगरपालिका–३ खहरेको भिर कटानको काम भइरहेको र बिहुँबाट घोडाबाँधे खण्डमा क्रसर सञ्चालन थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । “उपल्लो खण्डमा कच्चा पदार्थको अभाव थियो, त्यसको समाधान भएको छ, तल्लो खण्डको मुख्य समस्याका रूपमा रहेको खहरेको चट्टान अहिले धमाधम कटान भइरहेको छ”, मरासिनीले भने, “ठेक्का सम्झौता भएको पाँच वर्षपछि कालोपत्रका लागि काम शुरु भएको छ ।”




