
साधना लघुबित्तले प्रारम्भिक साधार सेयर(आइपीओ) निस्कासन गर्ने
गोरखामा प्रधान कार्यालय रहेको साधना लघुबित्त बित्तीय संस्थाले प्रारम्भिक साधार सेयर(आइपीओ) निश्कासन गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको तेश्रो बार्षिक साधारण सभाले आइपीओ निश्कासन गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।
साधारण सभाले पुँजी संरचना सम्बन्धी ब्यबस्था संसोधन गरी सञ्चालक समितिले प्रस्ताब गरे बमोजिमको जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७०७८०० कित्ता शेयर सर्बसाधरणका लागि जारी गर्ने आइपीओ पश्चात बित्तीय संस्थाको चुक्तापुँजी २१ करोड, ७७ लाख, ८० हजार पुग्नुको साथै कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताब समेत पारित गरेको सिईओ न्यौपानेले बताए ।
सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष थापाले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक प्रतिबेदन, वासलात, नाफानोक्सानको हिसाब, नगद प्रबाहको बिबरण प्रस्तुत गरेका थिए ।
साधारण सभाले आर्थिकबर्ष २०७६÷०७७ को बाह्य लेखापरीक्षण गर्न ए.के.जी.एसो सिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताब पारित गरेको सिईओ न्यौपानेले जानकारी दिए ।
साथै भबिष्यमा अन्य कुनै लघुबित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) मा जान आवश्यक सहमति सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बित्तीय संस्थाकोको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
गत मंसीर ११ गतेबाट राष्ट्रियस्तरमा स्तरोन्ति भएको यस बित्तीय संस्थाले सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेबा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका सिइओ न्यौपानेले जानकारी दिए । हाल यस बित्तीय संस्थाले ४७ बटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गर्दे आइरहेको छ ।




