चेम्बरलाई दशैं मेलाबाट रु ६ लाख कमाइ
गोरखा चेम्वर अफ कमर्शले यो वर्षको दशैं सस्तो बजार मेलाबाट साढे ६ लाख रुपैया आम्दानी गरेको छ । असोज ८ देखि १७ गतेसम्म गोरखा सदरमुकाममा सम्पन्न मेलामा ६ लाख ६२ हजार ८ सय ३२ रुपैया नाफा भएको चेम्वरले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
स्टल भाडा लगायत शिर्षकको सम्पूर्ण रकम भने प्राप्त भैनसकेको पत्रकार सम्मेलनमा चेम्वरले जानकारी दिएको छ । मेलाबाट ४८ लाख ६१ हजार रुप्ैया आम्दानी भएको चेम्वरका कोषाध्यक्ष शिशुबाबु प्रधानले बताए । गत वर्ष गरिएको मेलामा भने ४ लाख १७ हजार रुपैया घाटा भएको चेम्बरले बताएको छ । यो बर्ष स्टल भाडाबाट मात्रै २५ लाख रुपैया आम्दानी भएको उनको भनाई छ । यस्तै मुख्य प्रायोजकबाट ५ लाख, टिकट बिक्रीबाट १० लाख ७ हजार १ सय, बाल उद्यानबाट ३ लाख ५० हजार आम्दानी भएको प्रधानले जानकारी दिए ।
मेलामा सबैभन्दा धेरै साँस्कृतिक कार्यक्रममा मात्रै १३ लाख ५५ हजार रुपैया खर्च भएको चेम्वरले जानकारी दिएको छ । खेलकुद मैदान ब्यवस्थापनका लागि ६ लाख रुपैया खर्च भएको पत्रकार सम्मेलनमा बताइएको छ । यो वर्षको मेला झण्डै ७८ हजार दर्शकले अवलोकन गरेका र साढे ८ करोड रुपैयाको कारोबार भएको चेम्वरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
नाफा भएको रकम ब्यवसायिक हितमा खर्च गर्ने उनको भनाई छ । ब्यवसायीहरुलाई करप्रणाली र उपभोक्ता अधिकारबारे जानकारी दिने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए । दशैंका उपभोक्ता लक्षित मेलालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले बताए ।