| शनिबार, कार्तिक २, २०७६

पिठोसँग साटिन्छ स्याउ

गोरखा :‘हाम्री आमा साह्रै नै बाठी छिन्, चामलसित पिठो पो साँटिछिन्’, हरिवंश आचार्यले गाएको यो कुनै समयको हिट गीत हो। गीतमा भनेजस्तै गोरखाका किसानले महँगो स्याउ पिठोसित साट्ने गरेका छन्।

‘बजारमा बेच्न लैजाउँ भने गाउँमा मोटरबाटो छैन। खच्चडमा बोकाएर लैजाउँ भने भीर पहराको बाटो यता र उता ठोक्किएर नाश हुन्छ’, चुमनुब्री गाउँपालिका ३ न्याकका दिपेश गुरुङ भन्छन्, ‘त्यही भएर हाम्रा गाउँका मान्छेले बारीको स्याउ वल्लो घर, पल्लो घर, वल्लो गाउँ पल्लो गाउँ पिठोमा साटेर सिध्याउँछन्।’ एक घ्वाक (तीनमाना) काँचो पिठोसँग पाँचदेखि १० वटासम्म स्याउ साट्ने उनी बताउँछन्।

गोरखा बजारमा बाहिरबाट ल्याएको मध्यमखाले स्याउको बजारभाउ प्रतिकिलो २५० रुपैयाँ छ। तर, मोटरबाटो नहुँदा गाउँमा उत्पादित स्याउ महŒवहीन भएको उनको गुनासो छ।

चुमनुब्री गाउँपालिकाको २ ल्हो, ल्ही, स्यो, ३ को न्याक, आँगा, सस्र्युँ, ४ को प्रोक, छाक, क्वाक गाउँमा स्याउ उत्पादन हुन्छ। तर, स्याउले बजार नपाउँदा केटाकेटीले फुटबल खेलेर फ्याक्ने गरेको न्याकका दिपेश गुरुङको भनाइ छ।

‘फल्न थालेदेखि नै केटाकेटीले टिपेर फुटबल खेल्न थाल्छन्’, उनी भन्छन्, ‘कोही स्याउको लोकल रक्सी बनाएर सिध्याउँछन्।’

न्याकमा ४५ घरधुरीको बसोबास छ। उनीहरूमध्ये प्रत्येकको बारीमा एउटा, दुइटादेखि १०, १५ वटासम्म स्याउका बोट छन्। ‘एउटा बोटमा पाँच डोकोदेखि सात, आठ डोकोसम्म स्याउ फल्छ। तर, न स्याउले बजार देख्न पायो, न मान्छेले स्याउ बेचेर पैसाको मुख देख्न पाए।’

स्याउले बजार नपाए पनि गाउँपालिका सरकार र प्रदेश सरकारले स्याउको बिरुवा वितरण गरिरहेका छन्। गत वर्ष गाउँपालिकाले किसानलाई जुम्ला भ्रमण लगेर त्यहाँको स्याउको बिरुवा वितरण गरेको ४ का अध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए।

स्याउखेतीका लागि किसानलाई अनुदान दिए पनि गाउँपालिका सरकार र प्रदेश सरकारले बजारको भने व्यवस्था गरेको छैन। ‘गाउँको स्याउले बजार पाएको छैन। अलिअलि पर्यटक हिड्ने होटलमा राख्छन्। नत्र प्राय सबै स्याउको लोकल रक्सी बनाएरै सक्ने हो’, उनी भन्छन्, ‘अहिले लगाएको बिरुवाचाहिँ दुई वर्षभित्र फल्छ। दुई तीन वर्षभित्र त गाउँमा मोटरबाटो आउला भन्ने आशा पनि छ।’
source: annapurnapost.com

प्रतिक्रिया दिनुहोस्