
विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धनका लागि छलफल
विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धन विषयक जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ । स्थानिय तहसँगको सहकार्यमा रोग लागेपछि उपचार गर्नभन्दा रोग लाग्न ैनदिने निति अनुसार स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा सोमबार जिल्लास्तरीय अभिमुखीकरण भएको हो । कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खड्काले खाद्य तथा पोषणको अबस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा पुड्कोपना ३६, ख्याउटे १० र कम तौलका २७ प्रतिशत रहेको उल्लेख गर्दै उनले जिल्लामा एकिन तथ्यांक नभएपनि यस्तै स्थिती रहेको बताए । कुपोषणका कारण नवशिशु र शिशु मृत्युदर घटाउन चुनौती रहेको उनले जानकारी दिए ।
कार्यक्रममा कृषि ज्ञानकेन्द्रका प्रमुख दुर्गाप्रसाद पण्डितले नेपाल र गोरखाको सन्दर्भमा विषादीको प्रयोगको अबस्था, चुनौती र सुझाव विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला तथा देशमा नै विषादीको प्रयोग दर बर्षेनी बढेदै गएको उनले बताए । कार्यक्रममा डाक्टर प्रणाम जयरुले विषादीको प्रयोगले जनस्वास्थ्यमा पार्ने असर विषयक कार्यपत्र प्रस्ततु गर्दै विषादीको प्रयोगले नसर्ने रोग बढेको बताए । विभिन्न अध्ययनले विषादीको प्रयोगको बर्षौसम्म प्रभाव रहने देखाएकोले विषादीको प्रयोग नगर्न उनले सुझाव दिए ।
कार्यक्रममा सहभागीहरुले विषादीको प्रयोग घटाउन प्राङगरीक मलको प्रयोगमा बढावा दिनुपर्ने तथा तिन तहको सरकारबाट ब्यबहारीक रुपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम ल्याउनुपर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका स्वास्थ्य कार्यालयका परीवार नियोजन अधिकृत विरबहादुर श्रेष्ठले जानकारी दिए । सोही प्रकृतिको कार्यक्रम अब स्थानिय तहमा पनि हुने उनको भनाई छ ।




