| आइतवार, कार्तिक २२, २०८३

हाटबजारका लागि स्थायी संरचना बन्दै

शहिद लखन गाउँपालिका ३ को रामशाहघाट नजिकै हाटबजारका लागि टूष्ट भवन निर्माण सुरु भएको छ । भवनको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले शिलान्यास गरे ।

२९ लाख रुपैयाँको लागतमा भवन निर्माण शुरु भएको गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश कृषि विकास निर्देशनालयको २४ लाख र गाउँपालिकाको पाँच लाख रुपैयाँको लागतमा भवन बन्ने उनको भनाई छ । ३० मिटर लम्बाई र छ मिटर चौडाईको टूस्ट भवन दुई साताभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हाटबजार सञ्चालक समिति अध्यक्ष होमनाथ रिमालले जानकारी दिए । निर्माण सामाग्री जुटिसकेकाले निर्माणमा ढिलाई नहुने उनको भनाई छ ।

यो बर्ष हाटबजार बनाउन बजेट उपलब्ध गराएको प्रदेश सरकारले अर्को बर्ष हाटबजारको कार्यालय ब्यबस्थापनका लागि बजेट दिने आश्वासन दिएको कृषि शाखा प्रमुख पौडेलले बताए । नयापुल कृषि उपज सञ्चालक समीतीले गाउँपालिका सँगको समन्वयमा हरेक शनिवार सञ्चालन गर्दै आएको हाटबजार अहिले पालमुनि सञ्चालनमा छ । पानी र हावाहुरीमा हाटबजार सञ्चालन गर्न समस्या रहेपनि अब भवन बनेपनि किसानहरु ढुक्कका साथ कृषि उत्पादन बेचविखन गर्न सक्ने सञ्चालक समितिका अध्यक्ष रिमालले बताए ।

हालसम्म ३० औं हाटबजार सञ्चालन भैसकेको छ । जसबाट करीब सवा करोड रुपैयाँ बराबरको कारोबार भैसकेको शहिद लखन गाउँपालिकाको कृषि शाखाका प्रमुख पौडेलले जानकारी दिए । ‘बिचौलियाका कारण किसान र उपभोक्तालाई पर्ने समस्या न्युनिकरण भएको छ’ उनले भने ‘हाटबजारमा किसान र उपभोक्ताको सिधै भेट भयो । तेस्रो पक्षले नाफा खान पाएनन् ।’

हाटवजारमा स्थानिय किसानले उत्पादन गरेका तरकारी, विऊविजन, खसीबोका, दुध, मासु लगायत कृषि र पशुजन्य सामग्री खरीद बिक्री हुँदै आएको छ। हाटबजारबाट स्थानिय बासीन्दा सहित गोरखा बजार, तनहुँको आबुखैरेनी, डुम्रे, चितवनको मुग्लीन बजारका बासिन्दाले पनि लाभ लिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्